प्रत्यक्षतर्फ १७ सिटमा खुम्चिएको माओवादीमा कसले कहाँबाट जिते ?

प्रत्यक्षतर्फ १७ सिटमा खुम्चिएको माओवादीमा कसले कहाँबाट जिते ?

काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ निर्वाचन क्षेत्रमा जित हासिँल गरेको छ । १६ निर्वाचन क्षेत्रमा पुरुष र एक निर्वाचन क्षेत्रमा एक जना महिला निर्वाचित भएका छन्। 

२०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ३६ र समानुपातिक तर्फ १७ सिट ल्याएको माओवादी यो पटक प्रत्यक्षतर्फ १७ सिटमा खुम्चिएको छ। 

माओवादी केन्द्रबाट निर्वाचित हुनेमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिवद्वय वर्षमान पुन, जनार्दन शर्मा छन् । यस्तै, देवेन्द्र पौडेल, शक्तिबहादुर बस्नेत, पूर्णबहादुर घर्तीमगर, माधव सापकोटा, राजन दाहाल, सुदन किराँती, महेन्द्रबहादुर शाही, सुर्यमान तामाङ दोङ, हितबहादुर तामाङ, अमनलाल मोदी, रामकुमार राई, छिरिङ डम्डुल लामा भोटे छन्। 

महिलाबाट एकमात्रै रेखा शर्मा निर्वाचित भएकी छन् । यस्तै नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादव माओवादी केन्द्रको हसिंया हथौडा चिह्न लिएर चुनाव जितेका छन् । 

प्रचण्डले गोरखा २ बाट एमालेका अव्दुस मियालाई हराउँदै निर्वाचित भए । प्रचण्ड २०६४ सालदेखि केन्द्रीय राजनीतिको नेतृत्वदायी भूमिकामा छन् । पटक पटक निर्वाचन जित्दै आएका प्रचण्ड दुई कार्यकाल प्रधानमन्त्री भइसकेका छन् । 

रोल्पा १ बाट पूर्वअर्थ मन्त्री रहेका वर्षमान पुन निर्वाचित भए । एमालेका पूर्ण बुढामगरलाई २५ हजार २२९ मतान्तरले पराजित गर्दै पुन विजयी भएका हुन् । उनी राष्ट्रिय राजनीतिमा प्रभावशाली हस्तक्षेप गर्नसक्ने क्षमता भएका नेताका रूपमा चिनिन्छन् । १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा होमिएका पुन जनमुक्ति सेनाको डेपुटी कमाण्डर भएका थिए । 

पुनले शान्ति तथा पुनर्निर्माण, अर्थ, ऊर्जालगायतका मन्त्रालयको कार्यभार सम्हालेका छन् भने अहिले नेकपा माओवादी केन्द्रको उपमहासचिव छन् । ०२८ सालमा रोल्पाको जंकोट १ माडीचौरमा जन्मिएका पुन २०५२ सालमा माओवादी सशस्त्र द्वन्द्वका समयमा होलेरी चौकी आक्रमण हुँदा राजनीतिक कमिसार थिए । उनी पहिलो संविधानसभामा ललितपुर-१ बाट निर्वाचित भएका थिए । पुनले अर्थ, उर्जासहित विभिन्न मन्त्रालयमा पटक पटक नेतृत्व गरिसेका छन् ।
 
त्यस्तै सिन्धुली २ बाट लेखनाथ दाहाल ‘राजन’ निर्वाचित भएका छन् । दाहाल निर्वाचित हुँदा एमालेका मनोजजंग थापालाई पराजित भए । राजन सिन्धुलीका लोकप्रिय युवा नेताका रुपमा चिनिन्छन् । २०७४ मा राजन प्रदेशसभामा विजयी बनेका थिए । २०७४ मा राजन प्रदेशसभामा विजयी भएका थिए । २०३४ सालमा जन्मिएका राजनको राजनीतिक पृष्ठभूमि विद्यार्थी संगठन हो ।

रुकुम पूर्वमा लुम्बिनी प्रदेशमा पूर्वसभामुख भएर काम गरेका पूर्णबहादुर घर्ती निर्वाचित हुँदा एमालेका कैलाश ढुंगेल पराजित भए । अघिल्लो पटक रुकुम क्षेत्र नम्बर १(२) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । साविक रूकुम जिल्ला चुनवाङ गाविस-६ लाखर खोलामा २०२४ सालमा जन्मिएका घर्ती २०७४ मा लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । 

हाइस्कुलसम्मको अध्ययन गरेका घर्तीले संस्कृतको समेत अध्ययन गरेका छन् । २०५७ मा नेकपा(माओवादी)को केन्द्रीय सदस्य बनेका घर्ती पूर्व शिक्षक हुन् । २०६५ मंसिरदेखि २०६६ असारसम्म नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष समेत भएका थिए ।

यस्तै, बागलुङ–२ मा शिक्षामन्त्री रहेका देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल निर्वाचित हुँदा एमालेकी मञ्जु शर्मा चालिसे पराजित भइन् । वि.सं. २०२१ सालमा जन्मिएका पौडेल २०३७ सालदेखि राजनीतिमा सक्रिय छन् । बीएड, एमएसम्मको अध्ययन गरेका पौडेल २०६८ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकारको भुमिकामा थिए । पार्टीको शहरी विकास विभाग प्रमुखको जिम्मेवारीमा छन् । पौडेल २०७४ मा बागलुङबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका थिए । 

सिन्धुपाल्चोक-१ बाट माधव सापकोटा निर्वाचित भएका छन् । सापकोटा निर्वाचित हुँदा एमालेका सरेश नेपाल पराजित भए । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी वडा नम्बर ४, कुविन्डेका माधव २०५६ देखि पूर्णरूपमा भूमिगत भएर माओवादी आन्दोलनमा सक्रिय रूपमा लागेका थिए ।

२०६३ वैशाख १० गते सिन्धुपाल्चोक सदरमुकाम चौतारामा माओवादीले गरेको आक्रमणको कमाण्डर माधव थिए । २०७५ जेठ ३ गते पार्टी एकतापछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सहईञ्चार्ज बने । 

माधवले पूर्वसभामुख अग्निप्रसाद सापकोटाको २०६३ साल, २०७० साल र २०७४ सालको तीनवटै चुनावमा कमाण्डर एवं आन्तरिक व्यवस्थापन सम्हालेका थिए ।

पूर्वगृहमन्त्री समेत रहेका शक्तिबहादुर बस्नेत पनि निर्वाचित भएका छन् । जाजरकोट–१ बाट एमालेका नीरज आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गर्दै बस्नेत विजयी भएका हुन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव बस्नेत माओवादीका प्रभावशाली नेता भित्र पर्छन् । स्नातकसम्मको अध्ययन गरेका बस्नेत २०४१ देखि राजनीतिमा सक्रिय भएकाले हुन् । 

०७० मा संविधानसभा सदस्य भएका थिए । पटक पटक निर्वाचित हुने नेतामा पर्छन् बस्नेत । २०६८, २०७३ र २०७७ मा मन्त्री समेत भए । 

दाङ २ बाट रेखा शर्मा झिनो मतान्तरले जितिन् । शर्माले एमाले महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले हराइन् । अघिल्लो पटक समानुपातिक तर्फबाट सांसद भएकी थिइन् । वि.सं. २०२६ सालमा जन्मिएकी रेखा सामान्य प्रशासन मन्त्रीसहित सचेतकको भूमिकामा समेत रहिन्।
 
खोटाङ १ बाट रामकुमार राई निर्वाचित हुँदा एमालेका प्रभावशाली नेता विशाल भट्टराई २ हजार ६६९ मतान्तरले पराजित भए । वि.सं.२०२५ सालमा जन्मिएका राई  खोटाङको साकेला गाउँपालिका वडा नं. २ रतन्छामा निवासी हुन् । २०४१ सालमा अखिलमा आबद्ध भएर राजनीतिक जीवनको सुरुआत गरेका राई २०४९ सालदेखि भूमिगत राजनीतिमा थिए । २०६४ सालमा खोटाङ १ बाट संविधानसभा सदस्यमा निर्वाचित उनी २०७४ मा खोटाङ २ बाट प्रदेश सभा सदस्य विजयी भए । प्रदेश १ को खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री समेत भएका उनी नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुन् ।

यस्तै, भोजपुर–१ मा सुदन किराँती निर्वाचित हुँदा प्रदेश १ का पूर्वमुख्य मन्त्री शेरधन राई पराजित भए । वि.सं. २०३५ सालमा जन्मिएका किराँती रामप्रसाद राई गाउँपालिका-१ भोजपुरका स्थायी बासिन्दा हुन् । २०५४ सालमा कम्युनिष्ट पार्टी (नेकपा माले) को सदस्यता लिएका सुदन २०६४ मा संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । उनी ०७४ मा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएका थिए । ०४६ सालको प्रजातन्त्रसँगै नेकपा मालेको विद्यार्थी संगठनमा आबद्ध किराँती २०५८ देखि पूर्णकालीन भूमिगत राजनीतिमा प्रवेश गरेका थिए ।
 
बहालवाला अर्थ मन्त्री जनार्दन शर्मा रुकुम पश्चिम-१ बाट निर्वाचित भए । शर्माले एमालेका नन्दराम देवकोटालाई पराजित गराए । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं अर्थमन्त्री शर्मा २०६४, २०७० र २०७४ मा पनि रुकुमबाटै निर्वाचित भएका नेता हुन् ।

यस्तै कर्णाली प्रदेशका पूर्वमुख्य मन्त्री महेन्द्रबहादुर शाही निर्वाचित हुँदा कालीकोटबाट एमालेका नागिन्द्र शाही पराजित भए । राष्ट्रिय राजनीतिमा हस्तक्षेपपूर्ण पहुँच राख्ने शाही शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा संघीय सरकारको ऊर्जामन्त्री समेत भए ।

शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाभियोगको प्रस्ताव दर्ता गराउँदा प्रस्तावक थिए । २०३३ सालमा जन्मिएका शाहीले २०४८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका हुन् । दोस्रो संविधानसभाको निर्वाचनमा कालीकोटबाट प्रत्यक्ष निर्वाचित शाही २०७४ मा कालीकोटबाट प्रदेश सभामा निर्वाचित भए ।

काभ्रे-१ मा सुर्यमान तामाङ(दोङ)ले एमालेका रेशमबहादुर लामालाई तीन हजार ९६४ मतान्तरले पराजित गरे । तामाङ २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए । काभ्रे तेमाल गाउँपालिका वडा नं. ९ मा जन्मिएका तामाङ पञ्चायत विरोधी आन्दोलनमा पनि सहभागी भएका थिए । माओवादीको सशस्त्र द्वन्द्वमा होमिएका तामाङ २०६८ सालमा उर्जा राज्यमन्त्री भएका थिए । 

२०७० सालमा सप्पन्न संविधान सभा निर्वाचनमा भने झिनो मतले पराजित भएका तामाङ प्रचण्डका निकट मानिन्छन् ।

यस्तै, नुवाकोट–१ मा हितबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले एमालेका बद्री मैनालीलाई पराजित गरे। ०२० सालमा जन्मिएका हितबहादुर पूर्व शिक्षक हुन् । ०३६ सालमा मार्क्सवाद, लेनिनवाद तथा माओवादको दर्शनबाट प्रभावित भएर कम्युनिष्ट राजनीतिमा लागेका हुन् । २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला उपाध्यक्ष तथा २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य बनेका तामाङ २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायक बने । २०७४ मा भएको आमनिर्वाचनमा उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । तामाङ २०६६ को झलनाथ खनाल नेतृत्वको सरकारमा युवा खेलकुदमन्त्री थिए । 

मोरङ–४ बाट अमनलाल मोदी निर्वाचित हुँदा एमाले मोरङ अध्यक्ष विनोदप्रसाद ढकाल पराजित भए । ०४२ सालमा जन्मिएका मोदीको राजनीतिक जीवन २०५६ देखि सुरु भएको हो । राजनीतिक रूपमा सक्रिय रहँदा मोदीले जेल जीवन पनि बिताए । ०६० सालमा पक्राउ परेका उनी २ वर्ष ३ महिनासम्म जेलमा बसे । मोदीले ०७० को संविधानसभा सदस्य तथा ०७४ मा प्रतिनिधि सभा सदस्य बनेर काम गरेका छन् । 

हुम्ला- १ मा छिरिङ डम्डुल लामा ‘कार्चेन’ निर्वाचित हुँदा एमालेका दल रावल पराजित भए । हुम्लाको सिमकोट गाउँपालिका-३ घर भएका कार्चेन कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भइसकेका छन् । २०६९ मा माओवादीको केन्द्रीय सदस्य बनेका थिए । 

नेपाल समाजवादी पार्टीका नेता महिन्द्रराय यादव माओवादी केन्द्रको चुनाव चिन्हवाट सर्लाही–२ मा निर्वाचित भए । यादव निर्वाचित हुँदा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले हार व्यहोर्नुपर्‍यो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.