प्रायः सांसद   ४० पारि, युवा सांसद जम्मा १०

प्रायः सांसद   ४० पारि, युवा सांसद जम्मा १०

काठमाडौं : प्रतिनिधिसभाका प्रत्यक्षतर्फ निर्वाचित सबैजसो सांसद ४० वर्षमाथिका छन्। १३ जना ७० वर्ष कटेका छन्। सबैभन्दा बढी ६६ जना ५१–६० उमेरका छन्। युवा १० जना मात्रै छन्। राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्ष उमेरसमूहलाई युवा भनेको छ। यो समूहकामध्ये ३० मुनिका ३ र ३१–४० का ७ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। 

यस हिसाबले संघीय संसद्मा युवाको उपस्थिति अति न्यूनमात्रै देखिन्छ। मुलुकमा ४० वर्षभन्दा मुनिको जनसंख्या भने ४० प्रतिशत छ। तर, नीति निर्माण गर्ने तहमा भने ४० मुनिको उमेरसमुह ‘शिला’जस्तै खोज्नुपर्ने भएको छ। स्याङ्जा—२, बाजुरा र दोलखा गरी तीन क्षेत्रको परिणाम आउन बाँकी रहँदा प्रत्यक्षबाट १६.६५ प्रतिशत मात्रै युवा प्रतिनिधित्व देखिएको छ। राजनीतिमा युवा नेतृत्वबारे बहस चल्दै आए पनि संसद्मा प्रतिनिधित्व भने नगण्य देखिन्छ। 

यो निर्वाचनमा २७ देखि ८५ वर्षसम्म नेता निर्वाचित भएका छन्। त्यसो ४० देखि ६० वर्षसम्मका नेताले आफूलाई युवा भन्ने गरेका छन्। कांग्रेसका ‘युवा’ नेता महामन्त्री गगन थापा ४६ वर्ष पुगेका छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्मा ५२ वर्षका हुन्। अर्का युवा नेता प्रदीप पौडेल ४७ वर्ष भएका छन्। 

कांग्रेसकै योगेश गौचन थकाली भने २९ वर्षकै उमेरमा मुस्ताङबाट प्रतिनिधिसभा सदस्य भएका छन्। उनले एमाले नेता प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचन नै यो निर्वाचनमा बिजयी सबैभन्दा कान्छा पुरुष सांसद हुन्।

एमालेबाट जितेकामध्ये कान्छा सांसद हुन् ४० वर्षका महेशकुमार बर्तौला। उनले राजनीतिक गुरु एवं एकीकृत समाजवादी नेता विरोध खतिवडाको विरासत तोडेका छन्। एमालेबाटै ४० वर्षकी ज्वालाकुमारी साह सांसद भएकी छन्। उनले बारा—३ मा जसपाका रामबाबुकुमार यादवलाई हराएकी हुन्। एमालेका ‘युवा’ नेता योगेश भट्टराई ५६ वर्षका भएका छन्। एमालेकै ठाकुर गैरे ५४ वर्षका छन् भने गोकुल बाँस्कोटा ५२ वर्षका। 

माओवादीबाट ४० वर्षमुनि एक जना निर्वाचित भएका छन्। मोरङ—४ बाट निर्वाचित अमनलाल मोदी ३७ वर्षका हुन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम कान्छी सांसद हुन्। उनी २७ वर्ष पुगेकी छन्। गौतमले काठमाडौं—२ मा पूर्वसभामुख ओनसरी घर्ती मगरलाई हराएकी हुन्।। ललितपुर— ३ बाट यही पार्टीकै ३३ वर्षीया डा. तोसिमा कार्की प्रतिनिधिसभा सदस्य भएकी छन्। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई भारी मतान्तरले हराएकी हुन्। चितवन—१ बाट निर्वाचित हरि ढकाल ३९ वर्षका हुन्। उनले एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र कांग्रेस नेता एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वराज पौडेललाई भारी मतान्तरले पराजित गरेका छन्। 

राप्रपाका अधिकांश नेता पुराना छन्। त्यहाँ पनि एक जना ‘भाग्यमानी’ सांसद जितेका छन्। उनी हुन्, ३० वर्षीय ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही। उनी जुम्लाबाट निर्वाचित भएका छन्। 

नागरिक उन्मुक्ति पार्टीका दुई जना ४० वर्षमुनिका युवा छन्। कैलाली—१ बाट निर्वाचित रञ्जिता श्रेष्ठ चौधरी ३९ वर्षकी हुन्। उनले कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री रामजनम चौधरीलाई भारी मतान्तरले हराएकी छन्। कैलाली—२ बाट निर्वाचित अरुणकुमार चौधरी ३७ वर्ष भएका छन्। 

७० कटेका सांसद 

यो चुनावबाट ७० वर्षभन्दा माथिका १३ जना निर्वाचित भएका छन्। निर्वाचन आयोगको विवरणअनुसार सबैभन्दा ज्येष्ठ सांसद महिन्द्रराय यादव हुन्। सर्लाही— २ बाट निर्वाचित यादव ८५ वर्षका भएका छन्। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता राय यसपटक माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका थिए। उनले लासपाका राजेन्द्र महतोलाई हराएका हुन्।

यादवपछि महन्थ ठाकुर (८०) महोत्तरी—३, चित्रबहादुर केसी (८०) बागलुङ—१, रामचन्द्र पौडेल (७८) तनहुँ—१, मंगलप्रसाद गुप्ता (७७) कपिलवस्तु—३, शेरबहादुर देउवा (७७) डडेलधुरा, अर्जुननरसिंह केसी (७५) नुवाकोट—२, नवलकिशोर साह सोडी (७३) सप्तरी—१, धु्रवबहादुर प्रधान (७३) नवलपरासी—२, डा. नारायण खड्का (७३) उदयपुर—१, डा. शेखर कोइराला (७२) मोरङ—६ र दीपक बोहरा (७१) रूपन्देही—३ छन्।  

७० वर्ष पार गरेका धेरै सांसद कांग्रेसका ५ जना छन्। तीमध्ये प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा सातौं पटक निर्वाचन जितेर सांसद भएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनौती दिएका थिए। अर्का नेता डा. कोइरालाले मोरङ—६ मा एमाले नेता लालबाबु पण्डितलाई हराए। परराष्ट्रमन्त्रीसमेत रहेका डा. खड्काले उदयपुर—१ मा एमाले नेतृ मञ्जु चौधरीलाई हराएका हुन्। नेता केसी नुवाकोट—२ बाट निर्वाचित भएका हुन्। अर्का नेता पौडेलले तनहुँ—१ मा एमालेका एकबहादुर रानालाई हराएका हुन्। राप्रपा र लोसपाका २÷२, एमाले, माओवादी, जसपा, जनमोर्चाका १÷१ जना छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.