ऊन कारखाना

ऊन कारखाना

चुनावको माहोल सकिएको छ। नेता–कार्यकर्ताको चहलपहल पनि घटेको छ। होइन भने त चोक, गल्ली, चौतारो कहाँ पो देखिन्नथे र तिनीहरू ? अझ, खास गरेर तिनको चहलपहल साँझ ढलेपछिको ‘क्याम्प’मा राम्रैसँग देख्न सकिन्थ्यो। त्यस्तै एउटा क्याम्पको कुरो हो, एक पत्रकार पनि पुगेछन् त्यहाँ। जहाँ उनले त्यहाँ सुनेको वार्तालापजस्ताको तस्तै यसरी प्रस्तुत गरेका छन्–

‘खत्तमै गरे नि यी भ्रष्टहरूले देशलाई !’ एउटा पार्टीको नाम चलेका नेताहरूको नाम लिँदै एक जनाले गिलासका ठुलो घुट्को घुट्क्याए, ‘यस्तो मुला पनि राजनीतिक पार्टी हुन्छ ? हेर त, उतिबेलाका कलकारखानाहरू। क्या क्या थिए ! बाँसबारी छाला जुत्ता कारखाना, हेटौंडा कपडा उद्योग, बालाजु कपडा उद्योग, जनकपुर चुरोट कारखाना, हिमाल सिमेन्ट, डोल्मा वाच, ज्योति स्पेनिङ मिल, गोरखकाली टायर उद्योग, भृकुटी कागज कारखाना, हरिसिद्धि इँटा–टायल कारखाना... भएका जति सबै कलकारखाना बेचेरै खाई सिध्याए।’

दोस्रोले पनि त्यतिञ्जेल दुई घुट्को लिइसकेका थिए। तत्काल प्रतिक्रिया व्यक्त गरिहाले– ‘के फुर्ती लाउँछौ यार तिमी ?

तिम्रो पार्टी पनि के कम ? तिम्रो पार्टीका ठूला नेताहरूको पनि मिलेमतो छैन र त्यसमा ?’

‘लौ, तिम्रो पार्टीको नेताहरूलाई गाली गर्‍यो भनेर चित्त दुखाको ?... हा हा हा !’ हाँस्दै पहिलोले अर्को घुट्को घुट्क्याए।

‘अनि के कुरा गरेको तिम्ले ! आफू चोखो भए न अरूलाई हो भन्ने !’ दोस्रो त्यत्तिकै शान्त भएनन्।

‘धत्तेरी ! ‘झगडा नगरौं न साथी हो ! रमाइलो गरौं न रमाइलो !’ तेस्राले आफू बसेको मेच टेबलको नजिकै लग्दै भने– ‘लौ शब्द बन्द गरौं र अब यो पनि खोलौं !’ टेबलमाथिको एउटा रित्तिसकेको बोतल हटाउँदै अर्को बोतल खोल्दै आधा गिलास भरे र ‘नेट’ घुट्क्याए।

एउटै टेबलको वरिपरि जमेका थिए उनीहरू। उनीहरू अर्थात् ठूला कहलिएका केही राजनीतिक पार्टीका नवनेता÷कार्यकर्ताहरूको जमघट थियो त्यो।

अघिदेखि चौथा नेता करिबकरिब चुप देखिन्थे। उनी अचानक अगाडि सरे र कुनै गुप्त रहस्य खोल्न खोजे झैं बोले– ‘अघि, भ्रष्टहरूले कलकारखाना सिध्याएको कुरा आउँदा मलाई भने सही कुरा आए जस्तो लागेको थियो है।’

कुरो नबुझेर सबैले उनको अनुहार नियाले।

उनले हल्का मुस्काउँदै भने– ‘हेर साथीहरू, ती भ्रष्टहरू जुनसुकै पार्टीका होउन्, तिनले देशमा स्थापित कलकारखाना सिध्याइदिएर राम्रो काम गरेका छन्।’

‘राम्रो ?’ फेरि सबै एकसाथ चकित बने।

‘हो, ती कलकारखाना पुराना भए, ठीकै त भो विस्थापित भए। चाहे त्यत्तिकै होस् चाहे भ्रष्टाचार गरेरै होस् !’ उनी विश्लेषण गर्न लागे– ‘तर पुराना भएर मात्रै ती विस्थापन भएको विषयलाई मैले ठिक भनेको होइन, तिनका विस्थापनले अर्को निकै ठूलो फाइदा पनि पुर्‍याएको छ।’

सबै जनाले त्यो फाइदालाई बुझ्न चाहे। त्यसैले उनै चौथा नेताले बडो रहस्यात्मक पारामा भन्न लागे– ‘ती कलकारखाना विस्थापित नभएका भए अर्को नयाँ कारखाना कसरी स्थापित हुन्थ्यो देशमा ?’

‘नयाँ कारखाना ?’ पहिलो नेताले उनलाई प्रश्न गरे। अन्यले पनि सही थाप्दै उही प्रश्न तेस्र्याए।

उनले सबैका अनुहार एक–एक ताक्दै भने– ‘ए ... भनेपछि तिमीहरूलाई नयाँ कारखानाका बारेमा केही थाहै छैन कि क्या हो ?’ सबै अवाक् ! तर प्रश्न जीवितै थियो ‘के, कुन कारखाना ?’

प्रष्ट जवाफ आयो– ‘ऊन कारखाना !’

‘ऊन कारखाना ?’ सबैको अनुहारमा आश्चर्यको भाव थियो।

चौथा व्यक्ति जो ऊन कारखानाको कुरा गर्दै थिए, उनले कारखानाका बारे व्याख्या गर्न लागे– ‘कारखानाले यसरी विकासको रूप लिएको छ कि त्यसको कुनै सीमा नै छैन।’

‘कसरी नि ?’ फेरि प्रश्न आयो।

सहजै जवाफ आयो– ‘ऊनको सप्लाई बढी भएर...। पूर्वी जिल्लाबाट त्यत्तिकै ऊन आएको छ, पश्चिमबाट उत्तिकै थामी नसक्नु आएको छ। उत्तर, दक्षिण सबैतिरबाट ऊन आएको आयै छ।’

दोस्राले भने– ‘मैले त कस्तो ख्यालै नगरेको, हो त है !’

‘मैले पनि त...।’ तेस्राले बोल्दाबोल्दै पहिलोले सोधे– ‘अनि विदेशबाट पनि त आयात भैराखेकै छ ऊन, हैन र ?’

पहिलोले जवाफ दियो– ‘हो नि ! तर देशभित्रै पर्याप्त ऊन उत्पादन हुने भएकाले विदेशको ऊनलाई त्यति ध्यान दिइएको छैन।’ बोतलहरू रित्तिँदै गए, प्लेटका सितनहरू सकिँदै गए। गफको मात्रा पनि घढ्दै गयो।

चुनावताकाको यो जमघटमा भएको वार्तालापको यो रिपोर्टिङ ढिलो गरेर भए पनि भर्खरै पढ्दापढ्दै अचानक बाहिर सडकका हल्लाले मेरो ध्यान भंग गर्‍यो। शान्त सहरमा मैले देख्न पुगें– एउटा सानोतिनो जुलुस आइरहेको थियो।

लौ के अचम्म ! जुलुसमा म यो के देख्दै छु ? ऊनै ऊनको रासले भरिएको जमात उफ्रिरहेको थियो, नारा लगाइरहेको थियो। अझ नियालेर हेरें मैले। त्यो जमातमा सहभागीहरू प्रायःका हातमा राजनीतिक पार्टीको झन्डाहरू देखें। अझ मेरा आँखाहरू आश्चर्यले त्यतिखेर विस्फारित भए जब तिनका हातले उचालेका झन्डाहरूलाई प्रष्टसँग चिनें। केवल एउटै राजनीतिक पार्टीका झन्डा थिएनन् ती विभिन्न पार्टीका थिए।

अब भने म निश्चिन्त भएँ, देशमा सबै प्रकारका कलकारखाना विस्थापित भएर के भो र ! चिन्ता गर्नुपर्ने केही कारणै छैन। ऊन कारखानाले गरेको प्रगतिले देशको समृद्धिको ढोका खोलिसकेको छ। त्यसैले खुसी छु म, गौरवान्वित छु– देश आत्मनिर्भर बनेको छ। आउनोस् मतदाताहरू, यो चुनाव सकिएर नयाँ सरकार बन्न लागेको खुसीयालीमा हामी पनि त्यो ऊनको रासमा मिसिऔं !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.