गायन क्षेत्रमा नभएको भए खेलकुदमै हुन्थें

गायन क्षेत्रमा नभएको भए खेलकुदमै हुन्थें

नेपाली सांगीतिक क्षेत्रका एउटा चर्चित नाम हो, प्रमोद खरेल। नेपाली आधुनिक तथा पाश्र्व गायनका चम्किलो ताराका रूपमा पनि उनका चर्चा हुने गरेको छ। ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ भन्ने गीतबाट सबैको मनमनमा बस्न सफल खरेल आजसम्म निरन्तर नयाँ नयाँ गीत ल्याइरहेका छन्। दुई हजारभन्दा बढी गीतमा स्वर भरिसकेका खरेल हाल चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का कोच पनि हुन्। गायक खरेलसँग विश्वकप फुटबलमा केन्द्रित रहेर अन्नपूर्णकर्मी इन्द्र चौधरीले गरेको कुराकानी : 


अहिले सिंगो विश्वको ध्यान विश्वकपमा केन्द्रित भएको छ। तपाईंले चाहिँ कत्तिको हेर्दै हुनुहुन्छ ? 

म खेलकुदप्रेमी मानिस हुँ। फुटबल त सानैदेखि खेल्ने र हेर्ने गर्थें। त्यसमाथि विश्वकप त नहेर्ने कुरै भएन। नियमतिजसो हेरिरहेको छु। तर, यसअघि कुनै कुनै दिन २-२ र ४-४ वटा खेल सँगै हुँदा भने एउटा हेर्दा अर्को छुट्थ्यो। त्यसरी कतिपय खेलहरू छुट्यो । नत्र भने भ्याएसम्म सबै खेल हेरेको छु। विश्वकपको भरपुर आनन्द लिइरहेको छु।

तपाईंलाई मनपर्ने टिम कुन हो ? कसलाई सपोर्ट गरिरहनु भएको छ ?
मेरो अलटाइम फेभरेट टिम पोल्यान्ड हो। जुन विश्वकपबाट बाहिरिसक्यो। खासमा मैले सन् १९९४ देखि विश्वकप हेर्न थालेको हो। त्यसपछि भने म ब्राजिलको फ्यान भएँ। यसकै सपोर्टमा छु। खेलाडीको खेल्ने शैली र स्वभाव हेर्दा मलाई सबैभन्दा बढी लियोनल मेसी मनपर्छ। त्यसैले म उनलाई फलो गरिरहेको हुन्छु। किनभने उनी हाम्रो ‘एरा’ का अद्भूत खेलाडी हुन्। उनको खेल हेर्न पाउनु नै हाम्रो लागि भाग्यको कुरा हो। त्यसैले ब्राजिको सपोर्टर भएर पनि मेसीका कारण अर्जेन्टिनालाई सपोर्ट गरिरहेको छु।

अनि तपाईं फुटबल कत्तिको खेल्नुहुन्छ नि ?
खेल्छु नि। म पहिला ठूलो खेलहरू त भन्दिनँ तर साधारण फुटबल खुब खेलिन्थ्यो। अहिले पनि मौका मिलेको बेला खेलिरहेकै हुन्छु। 

रंगशालमा गएर प्रत्यक्ष कुनै खेलहरू हेर्नुभएको छ ? 
हेरेको छु। म कलेज समयदेखि नै हेर्दै आएको छु।  कलेजताका त झन् नेपालमा भएका ‘ए’ डिभिजन लिगहरू कहिल्यै छुटाउँदिनथें। रंगशालामै गएर हेर्थें। नेपालका अन्य धेरै क्लबहरूको खेल पनि खुब हेरेको छु। 

तपाईंको परिवारमा अरू पनि फुटबलप्रेमी छन्  ? 
म त झापामा हुर्केको मान्छे हुँ। त्यहाँ फुटबल नहेर्ने र मन नपराउने मान्छे नै हुँदैनन्। म मात्र होइन। त्यहाँका सबैको परिवारले फुटबल हेर्छन्। मेरो परिवारका सबै फुटबल भनेपछि हुरुक्कै हुन्छन्। त्यसमाथि यो विश्वकप त झन् छुटाउने कुरै भएन। हामी जहिले पनि फुटबल हेर्दा एउटा एउटा टिम रोजेर ‘मेरो टिमले जित्छ’ भन्दै रमाइलो गर्दै हेर्छौं। यसपालिको विश्वकप झन् रमाइलोका साथ हेरिरहेका छौं। 

यसपालिको विश्वकप कसले जितोस् भन्ने चाहनु हुन्छ ?
मैले सपोर्ट गर्ने दुवै टिम अहिले क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। त्यसैले म निकै खुसी पनि छु। ब्राजिल र अर्जेन्टिना जसले जिते पनि म खुसी नै हुन्छु। तर, त्यो सँगसँगै फ्रान्स पनि निकै बलियो रूपमा आइरहेको छ। फ्रान्सले पनि नजित्ला भन्न सकिन्न। फ्रान्स अघिल्लो विश्वकप ट्रफी पनि उचालेको देश हो। जसले जिते पनि नजितेकाले जित्दा राम्रो हुन्छ। 

यदि तपाईं संगीत क्षेत्रमा नलागेको भए तपाईंको रुचि केमा हुन्थ्यो ? 
संगीत वा गायन क्षेत्रमा लागे पनि खेलकुदमा पनि मेरो उत्तिकै रुचि छ। त्यसैले मैले मेरो ट्विटर, फेसबुकमा खेलकुदका अपडेट पनि गरिरहेकै हुन्छु। त्यसैले सामाजिक सञ्जालमा मलाई फलो गर्नेहरूमा खेलकुदप्रेमी पनि धेरै नै हुनुहुन्छ। त्यसमाथि मैले खेलाडीहरूका लागि पनि गीत गएको छु। त्यसैले गीत÷संगीतबाहेक मेरै रुचि खेलकुदमै बढी छ। 

नेपालले विश्वकप खेल्ने दिन कहिले आउलाजस्तो लाग्छ, तपाईंलाई ?
नेपालले फुटबल क्षेत्रमा केही प्रगति त पक्कै गरेको छ। तर, दक्षिण एसियाली खेलकुदलगायतमा पनि जित्न सकिरहेको अवस्था छैन। यस्तो अवस्थामा नेपाल विश्वकप खेल्ने दिन आउला भन्नु नै धेरै परको कुरा हो। फुटबल वा अन्य खेलको विकासमा राज्यले नै विशेष महत्वका साथ लगानी र नीति ल्याउनुपर्छ। यसका लागि नेपालले अझै धेरै मेहनत गर्नुपर्ने आवश्यकता हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.