पर्यटकको रोजाइमा परेको ठिनी होमस्टे
जोमसोम: मुस्ताङको घरपझोङ गाउँपालिका ५ ठिनी गाउँ पर्यटकको रोजाई केन्द्र बनेको छ। गाउँमा होमस्टे सञ्चालन हुन थालेपछि पर्यटक पनि बढेका छन् ।
चालु वर्षको साउदेखि हालसम्म दैनिक ८० जनासम्म पर्यटन होमस्टेमा आउने गरेका छन्। सदरमुकाम जोमसोम बजारमा पर्यटक लक्षित होटलमा खाना र बस्न महङ्गो शुल्क तिर्नुपर्ने भएकाले पनि ठिनी थकाली होमस्टे पर्यटकको रोजाइ बनेको छ ।
होमस्टेमा बस्ने पर्यटकलाई स्थानीयले आफ्नो संस्कृति, गाउँको इतिहासबारे जानकारी गराउने गरेका छन्।
स्थानीयले ०७३ सालदेखि होमस्टे सञ्चालन गर्न थालेका थिए । सुरुवाती अवस्थामा होमस्टेमा बस्ने पर्यटक कम भएपनि अहिले पर्यटकको रोजाइ बन्दै गएको छ।
मुस्ताङको भूगोल हेर्ने, मुक्तिनाथ मन्दिरको दर्शनमा जाने, कागबेनीधाम पुग्ने, कोरलानाकाबाट फर्किनेले पनि होमस्टे खोज्ने गरेका छन् । लमजुङको बेशी शहर, मनाङ र मुक्तिनाथक्षेत्र हुँदै वैकल्पिक पदमार्गमा यात्रा गर्ने तेस्रो मुलुकका पर्यटक ठिनी होमस्टेमा बस्न लालायित हुने होमस्टेकी अध्यक्ष मदना थकाली बताउँछिन् ।
परम्परागत खेती गर्ने यहाँका स्थानीयलाई होमस्टेले दैनिकी पनि सहज बनाइदिएको छ । होमस्टेलाई व्यावसायिक बनाएपछि स्थानीयको आयआर्जन पनि बढेको छ । सुरुमा ५ घरधुरीलाई अघोषित होमस्टेको घोषणा गरेका ठिनीबासीले ठिनी थकाली होमस्टेको संख्या १० पुर्याएका छन् ।
०७३ सालमा जूमा थकाली, मीना थकाली, स्मीता थकाली, आईतकुमारी थकाली र बत्तीमाया थकालीले फरक काम गर्ने गरी होमस्टेको काम सुरु गरेका थिए । अहिले उनीहरूले सिंगो गाउँलाई नै व्यावसायिक बनाउँदै लगेका छन् ।
गुजुमुच्च जोडिएका प्राचीन शैलीका घर, सांस्कृतिक धरोहरले ठिनी गाउँ, जोमसोम बजार र कालीगण्डकीको मनमोहक दृश्य ठिनी थकाली होमस्टेका आकर्षण हुन् ।
ठिनी जोमसोमबाट १५ मिनेटमा पुग्न सकिन्छ। जहाँ स्थानीय उत्पादनका अर्गानिक थकाली खाना परिकार , थकाली पहिरनमा सजिएर सेल्फी खिच्न पाइने व्यवस्था मिलाइएको छ । साँझपख थकाली सस्कृति र सांस्कृतिक कार्यक्रम देखाउने गरिएको छ ।
ठिनी होमस्टेमा एकै पटकमा १३५ जना पर्यटक अटाउन सक्ने क्षमता छ। एक होमस्टे घरधुरीमा दैनिक १५ जना पर्यटक बस्न मिल्ने सुविधा छ ।