उल्टो हिँड्नु स्वास्थ्यवर्द्धक !
मानिसको जीवनशैली र खानपानले मानिसको स्वास्थ्यमा विभिन्न असर पुर्याउन थालेको छ।
शारीरिक अभ्यास कम र अस्वस्थकर खानेकुराको प्रयोग बढेपछि शारीरिक, मानसिक समस्याको सिकार बन्ने मानिसको संख्या पनि बढ्न थालेको छ ।
यो समयमा सन्तुलित भोजन, शारीरिक अभ्यास, योग, ध्यानलगायतले धेरैलाई आकर्षित पनि गर्दै लगेको छ ।
इन्टरनेटको पहुँचमा हुने मानिसले कसरी स्वस्थ हुने भन्ने विषयको खोजी पनि बढ्न थालेको छ।
थोरै मात्र शारीरिक अभ्यासमा धेरै लाभ हुने कुरा के के भन्ने खोजी पनि धेरै हुन्छ। यी नै खोजीमा समावेश एक अभ्यास जोडिएको छ। त्यो हो उल्टो हिँडाइ ।
सामान्य लाग्ने यो अभ्यास शारीरिक तथा मानसिक स्वास्थ्यका लागि उपयोगी रहेको एक अध्ययनले देखाएको छ।
विश्व स्वास्थ्य संगठनले पनि एरोबिक अभ्यासका क्रममा उल्टो हिँडाइलाई पनि हप्तामा एक पटक जोड्न सुझाव दिएको छ।
उल्टो हिँडाइको अभ्यास फरक दिशामा हिँड्नमात्र नभइ शरीरलाई सन्तुलित राख्ने गज्जबको अभ्यास रहेको अध्ययनको निष्कर्ष छ।
अगाडि हिँड्ने सानै देखिको बानी, आँखाले देखेर हिँड्ने भएकाले पनि धेरै सजिलो हुन्छ। तर दृष्टिभन्दा फरक दिशाको हिँडाइमा मस्तिष्कको प्रयोग र अन्तरअंग कोअर्डिनेसन धेरै हुने भएकाले यो अभ्यासले धेरै स्वास्थ्यलाभ दिने बीबीसीले उल्लेख गरेको छ।
अध्ययनका अनुसार शरीरलाई स्थिर राख्नमात्र होइन जोर्नीको दुखाइ तथा घुँडाको दुखाइका बिरामीलाई पनि उपयोगी पाइएको छ ।
पछाडि हिँड्दा हामी छिटोछिटो र छोटो पाइला चाल्ने भएकाले शरीरको मांशपेसी पनि मजबुद बन्छ भने हिँड्दा पर्ने दबाब कम हुन्छ। जसले जोर्नी तथा घुँडाको दुखाइमा कम गर्छ।
ढाइ दुखाइका बिरामीलाई पनि उल्टो हिँड्ने अभ्यास उपयोगी हुने पाइएको छ। लगातार ढाड दुखेर ओछ्याननै लागेका बिरामीमा गरिएको सर्वेक्षणमा पनि यो प्रभावकारी ठहरिएको थियो।
एकै गतिमा सिधा अगाडि हिँड्नुको तुलनामा पछाडि हिँड्दा ४० प्रतिशत बढी फाइदा हुने गरेको छ।
तौल बढी भएका महिलाको मोटोपन घटना आयोजित ६ हप्ते तालिम कार्यक्रममा गरिएको सर्वेक्षणमा अगाडि हिँड्नेभन्दा पछाडि हिँड्नेमा बढी फाइदा पुगेको तथ्य बाहिरिएको हो ।
नियमित अभ्यासपछि सहजरुपले पछि हिँड्न सकिने भएकाले केही दिनको अभ्यासले सहजता ल्याउने अध्ययनकर्ताले बताएका छन्।
उल्टो हिँड्ने अभ्यास कसरी गर्ने ?
यदी तपाइँले यसअघि नै यो अभ्यास गरिरहनु भएको छ भने तपाइँ जानकार नै हुनुहुन्छ। होइन भने केही उपाय तपाइँलाई सुझाउँछौँ ।
उल्टो हिँड्नु त्यति ठूलो कुरा होइन् । त्यसो भन्दैमा त्यति धेरै सजिलो पनि छैन। यो अभ्यासमा जोडिन चाहनुहुन्छ भने सुरुवातमा आफूले भूगोल थाहा पाएको ठाउँमा अभ्यास गर्नुहोस् । सबैभन्दा उपयुक्त तपाइँको आफ्नै घर हुनसक्छ।