हिमचितुवाको आक्रमणबाट १२ च्यांग्रा मरे
जोमसोम: मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैलेमा हिमचितुवाको आक्रमणमा परी १२ वटा च्यांग्रा मरेका छन् ।
सोमबार स्थानीय ताक्ला गुरुङले पालेका च्यांग्रालाई हिमचितुवाले आक्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको इलाका कार्यालय जोमसोमले जनाएको छ। कार्यालयका अनुसार आक्रमणमा परेका १२ च्यांग्रा मरेका छन्।
हिमचितुवा खोरभित्रै पसेर च्यांग्रालाई आक्रमण गरेको च्यांग्रा पालक किसान ताक्ला गुरुङले बताए । १२ च्यांग्रा मर्दा ३ लाख ६० हजारभन्दा बढीको क्षति भएको उनले बताए। उनले क्षतिपूर्ति माग गर्दै एक्याप जोमसोममा निवेदन दिएका छन्। छुसाङ संरक्षण व्यवस्थापन समिति र अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, ईलाका संरक्षण क्षेत्र कार्यालयलाई पनि घटनाबारे गुरुङले जानकारी गराएका छन् ।
हिमचितुवा पीडितले बुझाएको क्षतिपूर्ति मागपत्र र विवरण आवश्यक छानविन गरी एक्यापको प्रधान कार्यालय पोखरा पठाईने कार्यालय प्रमुख अशोक सुवेदीले बताए । उनले नेपाल सरकारद्वारा जारी वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग सम्बन्धि निर्देशिका ०६९ र चौथो संशोधन २०७५ बमोजिम पीडितले क्षतिपूर्ती पाउने बताए ।
मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्वले पशुपालक किसानले सास्ती भोग्न बाध्य छन् । हिमचितुवाले वर्षेनी पशुमाथि आक्रमण गर्दा लाखौँ क्षति व्यहोर्नुपरेको किसान लाक्पा गुरुङले बताए । हिमचितुवाले भेडा, च्यांग्रा, याक, चौरी, घोडा, खच्चडलाई आक्रमण गर्ने गरेको पाईएको छ।