चिसो बढेसँगै मुस्ताङका कार्यालय प्रमुखविहीन
जोमसोम : हिउँदयामको अत्यधिक चिसो बढेसँगै मुस्ताङका अधिकांश कार्यालय सुनसान जस्तै छन्। जिल्लास्थित संघीय तथा प्रादेशिक कार्यालयहरू अहिले कार्यालय प्रमुख विहिन बनेका छन्।
मुस्ताङमा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन लगत्तै मुस्ताङका कार्यालय सुनसान बनेका हुन्।
अत्यधिक चिसो,हिमपातको सम्भावना र जिल्लामा सेवाग्राही न्यून हुँदा जिल्लास्थित सरकारीहरू सुनसान बनेको हो। मुस्ताङमा चिसो बढेसँगै विकास निर्माणका काम ठप्पै छन्।
सेवामूलक कार्यालयमा पनि सेवाग्राही नहुँदा जिल्लाका कर्मचारी जिल्ला छाडेका हुन्। अहिले मुस्ताङका कतिपय कार्यालय कार्यालय सहयोगीको भरमा छाडिएका छन् भने कतिपय कार्यालयहरू सीमित मात्र कर्मचारी छन्।
कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरू कार्यालय प्रयोजनअन्तर्गत अन्तरक्रिया, सम्मेलन, गोष्ठि, कार्यालयको कामकाज, बिदामा बसेको, परीक्षा दिने ,उपचार र अन्य व्यक्तिगत प्रयोजनका लागि भनेर जिल्ला बाहिर रहेको सम्बन्धित निकायमा रहेका कर्मचारी र कार्यालय सहयोगीहरू बताउँछन्।
कतिपय कार्यालयले दोहोरो जिल्लामा कार्यालय रहेको बताएका छन् भने कतिपय कार्यालय कर्मचारी फिल्ड भिजिटमा गएको जानकारी दिएका छन्।