आलु बेचेर ३३ करोड

आलु बेचेर ३३ करोड

जोमसोम : मुस्ताङले चालू आर्थिक वर्षमा कुल उत्पादनको ७० प्रतिशत अर्थात् ६ हजार ७ सय २२ मेट्रिकटन आलु निर्यात गरेको छ। यसबाट ३३ करोड ६१ लाख रुपैयाँ आम्दानी भएको छ। जिल्लाको पाँचवटै स्थानीय तहको ३ सय १२ हेक्टरमा आलु खेती हुन्छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार चालू आर्थिक वर्षमा ९ हजार ६ सय ३ मेट्रिकटन आलु उत्पादन भएको छ। 

केन्द्रले जिल्लाको पाँचवटै स्थानीय तहसँग समन्वय गरी कृषि ज्ञान केन्द्र मुस्ताङले आलुको क्रप कटिङ गरेको थियो। कुल उत्पादित आलुमध्ये २० प्रतिशत आलु बिउका लागि उपयोग हुन्छ भने १० प्रतिशत जिल्लामै खपत हुने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए। 

मुस्ताङमा प्रतिहेक्टर क्षेत्रफलमा औसत ३० दशमलव ७८ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ। बर्सेनि कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लाको औसत आलु उत्पादनको तथ्यांक संकलन गर्ने गरेको छ। केन्द्रका कृषि प्राविधिक, स्थानीय तह र सम्बन्धित कृषकको आलुबारीमा पुगेर तथ्यांक संकलन गर्ने गरिएको कार्यालय प्रमुख बस्ताकोटीले जानकारी दिए। प्रति १० वर्गमिटर क्षेत्रफलमा उत्पादन भएको आलुलाई क्रप कटिङ विधिबाट आलुको उत्पादकत्व मापन गरिने उनले बताए। 

हिमाली क्षेत्र, उच्च उचाइ र चिसो हावापानी उत्पादित मुस्ताङ्गी आलुको अन्य स्थानको भन्दा विशेष र फरक महत्त्व राख्दछ। मुस्ताङमा चालू वर्ष प्रतिपाथी रु. १ सय ५० रुपैयाँदेखि २ सय १० रुपैयाँसम्ममा बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। मुस्ताङमा पाथीको हिसाबले आलु बिक्री गर्ने चलन छ। प्रतिपाथीमा ३ केजी र १ मुरी आलुमा सरदर ६० केजी आलुको तौल हुन्छ। 

आलु उत्पादनबाट राम्रो फाइदा लिने सकिने भएकाले आलु खेतीतर्फ कृषकको आकर्षण बढ्दो रहेको स्थानीय किसान आजित थकालीले बताए। मुस्ताङमा आलु खरिद गर्न जिल्ला बाहिर र स्थानीय व्यापारीले कृषकसँग समन्वय गर्छन्। मुस्ताङमा सडक यातायात सहज भएसँगै आलुको दरभाउसमेत बर्सेनि १० प्रतिशतले वृद्धि भइरहेको थकालीले बताए। गत वर्षको मंसिरदेखि फागुन महिनामा लगाएको आलु भदौ र असोज महिनामा निकालिएको हो। अहिले यहाँका किसानले खेतबारी नयाँ आलु लगाउने तयारीमा जुटेका छन्। 

कृषि ज्ञान केन्द्र मुस्ताङसँग आलुको यकिन तथ्यांक नरहे पनि जिल्लाको लोघेकर दामोदरकुण्डमा सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ। त्यसपछि बारागुङ, लोमान्थाङ, घरपझोङ र थासाङमा आलु उत्पादन हुने गर्छ। हिमपातको चिस्यानले रोग र कीटाणु नष्ट गर्ने र भेडा—च्याङ्ग्रा र गोरु—झोपाको मल प्रयोग गरिने भएकाले मुस्ताङको आलु अर्गानिक ब्रान्ड बनेको हो। चिसो मौसमका साथै हिउँले सिञ्चित मुस्ताङको आलुबारीमा विभिन्न रोग संक्रमणसमेत  हिउँ पानीले नियन्त्रण गर्ने भएकाले विषादीको प्रयोग गर्नु पर्दैन। मुस्ताङमा उत्पादित आलु कोसेलीको रूपमा पनि पर्यटकले खरिद गर्छन्।

 देशका ७७ वटै जिल्लामा आलु उत्पादन हुने भए पनि मुस्ताङ्गी आलुको फरक विशेषता छ। जुनसुकै तरकारीसँग सहजै समिश्रण गरी खान मिल्ने मुस्ताङ्गी आलुको सहर बजारको होटल तथा रेस्टुरेन्टमा पाइन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.