‘नेपाल मेरो आत्माको जन्मघर हो’

‘नेपाल मेरो आत्माको जन्मघर हो’

तपाईंको नेपाल भ्रमण खास केका लागि हो ? 

मलाई नेपालसँग जोड्ने काम केपी सिटौलाले गर्नुभयो। सिटौला करिब ३० वर्षदेखि कोरियामा बस्दै आउनुभएको छ। उहाँले सामाजिक र व्यापारिक रूपमा नेपाल र कोरियालाई जोडिरहनुभएको छ। हामीचाहिँ उहाँसँग सामाजिक अझ भनौं सेवा भावले जोडिएका हौं। उहाँसँग भेट नभएको भए म आउने थिइनँ होला। 

भेट कसरी भयो ? सेवामा सहयात्रा कसरी जुर्‍यो ? 

हामी एउटा सानो गुम्बामा दुई आनी सँगै बस्थ्यौं। अर्को साथी, अझ भनौं मेरो सिनियर हुनुहुन्थ्यो म्यङ्जो सुनिम। त्यही गुम्बामा हामीले ‘छाबी खोङ्दक ह्वोए’ (जसको अर्थ अरूका लागि प्रार्थना वा अर्कालाई पीडामा मल्हम लगाएर खुसी बाँड्नु भन्ने लाग्छ) संस्था स्थापना गरेका थियौं। संस्था स्थापनापछि कसरी, कहाँ सहयोग गर्ने भन्ने विषयमा बुद्ध धर्मसँग आस्था राख्ने व्यक्तित्वहरूसँग भेटघाट राख्यौं। परामर्श गर्‍यौं। त्यही जमघटमा सिटौलासँग भेट भयो। 

उहाँको के कुराले नेपालसँग जोडिनुभयो ?

हामीसँग ठूलो कोष थिएन। थोरै पैसाबाट सहयोगको थालनी गरेका थियौं। थोरैमा पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा उहाँको काम गराइले देखायो। अनि उहाँमाथिको विश्वासले जोडियौं। 

नेपालमा सहयोग व्यक्तिगत कि संस्थागत ढंगले गरिरहनुभएको छ ? 

हामी बुद्धका अनुयायी। बुद्धले सिकाउनुभएको ध्यान, ज्ञान र कर्मलाई व्यवहारमा कसरी उतार्न सकिन्छ भन्ने सिकाउनु नै संस्थाको मुख्य उद्देश्य हो। त्यही क्रममा हामीले सेवा भावले ‘छाबी खोङ्दक ह्वोए’ खोलेका हौं। दुःखको कुरा मेरो सहयात्री आनी म्यङ्जो सुनिमको कम उमेरमै निधन भयो। त्यसपछि म गुम्बामा एक्लो भएँ। अहिले त्यो संस्थाको नाम फेरेर च्यारिटी संस्थाका रूपमा ‘हेल्पिङ रोड्स’ बनाएका छौं। नेपालमा सिटौलाको नेतृत्वमा ‘आशाका कोपिला’ भन्ने संस्था छ। यी दुई संस्थाको सहकार्यबाट नेपालमा सहयोग गरिरहेका छौं। 

नेपाल आएको कति वर्ष भयो ? के–के गर्नुभयो अहिलेसम्म ?

सन् २०१० बाट यो अभियान सुरु भएको हो। झापाको तत्कालीन गौरादहस्थित भद्रकाली माविबाट सुरु भएको यो अभियान १३औं वर्षमा हिँडिरहेको छ। यसबीच दर्जन शिक्षण संस्थालाई छात्रवृत्ति तथा विभिन्न शैक्षिक सामग्री प्रदान गरेका छौं। २१२ विद्यार्थीलाई नियमित छात्रवृत्ति प्रदान गरेका छौं। नजिक स्कुल नभएर पढ्न जान नसकेका २ सय ४० जनालाई साइकल बाँडेका छौं। स्कुलहरूमा २ सय १५ वटा डेस्कटप कम्प्युटर दिएका छौं। १ सय ३६ वटा ह्वाइट बोर्ड उपलब्ध गराएका छौं।  

सहयोगका लागि शिक्षा क्षेत्र नै रोज्नुको कारण के हो ?
हामीसँग प्रष्ट खाका थिएन। सिटौलाले नेपाल ल्याएर हामीलाई झापाको गौरादहस्थित भद्रकाली स्कुलमा लैजानुभयो। त्यहाँको शिक्षा पद्धति देखाउनुभयो। २१औं शताब्दीमा पनि २०औं शताब्दीको जस्तो शैक्षिक अवस्था देखेर यो क्षेत्रमा सहयोग गर्ने भावना पलाएको हो।

कोरियामा एउटा उखान छ, त्यसको आशय हुन्छ, ‘भोक लागेको पीडाभन्दा अशिक्षाको पीडा झन् कष्टदायी हुन्छ।’ भोक लागेकालाई खाना दियो भने एकछिनका लागि पेट त भर्छ, तर शिक्षा भनेको एकैछिनमा अघाइने कुरा होइन। यसका लागि धेरै समय लाग्छ। यो जीवन उज्यालो पार्ने एक प्रकारको खाना नै हो। 

शिक्षाको भोक मार्न तपाईंहरूको अभियान कस्तो हुन्छ ?
हामी अभियानका दौरान भन्ने गर्छौं, तपाईं आर्थिक रूपमा गरिब छु भनेर संकोच नमान्नुहोस्। तर, यदि तपाईंले आफ्नो बालबच्चालाई शिक्षामा रोक लगाउनुहुन्छ भने चाहिँ तपाईं गरिब नै हो। एउटा बच्चालाई खाना दिनु मात्रै अभिभावकत्व होइन। उसलाई खानाको साथसाथै शिक्षा दिनु भनेको उसका लागि सबैभन्दा ठूलो उपहार हो। अवसर नपाएकालाई अवसर दिनुभन्दा ठूलो अर्को मानव धर्म छैन। मानव जातिलाई शिक्षाको ज्योति छर्नु भनेको सबैभन्दा ठूलो धर्म हो जस्तो मलाई लाग्छ। 

यो काम तपाईंहरूको हो कि सरकारको ? 

देश समृद्ध बन्न शिक्षा जरुरी छ। सरकारले शिक्षा क्षेत्रलाई छोडेर अन्यत्रै भुलिरहेको मैले देखेँ। ज्ञानको ज्योति छोडेर अन्यत्र सरकार भुलेको देख्दा मलाई साह्रै नराम्रो लागेको छ। हामीले गरिरहेको काम भनेको खासमा यो देशको सरकारको हो। सरकारले यो काममा अग्रसरता देखायो भने मजस्ता धेरै अत्यन्तै खुसी हुने थियौं। 

तपाईंको नजरमा नेपालमा सरकारले गर्नुपर्ने कामहरू के देख्नुभएको छ ?

म धेरै स्कुलमा गएँ। हेरेँ। कक्षाकोठा छन्, तर अँध्यारा। कहीँकतै स्कुल राम्रा पनि छन्, तर अधिकांश ठाउँमा बिजुली नै छैन। अँध्यारोमा कसरी क्लास लिनु ? अर्को कुरा शिक्षकहरूमा जुन गुण र दक्षता हुनुपर्ने हो त्यो पनि पाइँदैन। जुन कुरामा दक्षता छ, अर्कै शिक्षा दिँदा कति प्रभावकारी होला ?

भौतिक संरचना नै ठूलो कुरा हो ? 
स्कुलको भवन ठूलो हुनुपर्छ भन्ने होइन। जे जस्तो छ, त्यो सफा त हुनुपर्‍यो नि ! विद्यार्थीलाई पढ्ने वातावरण सरसफाइले पनि दिन्छ। तर, मैले कुनै पनि स्कुलमा सरसफाइलाई प्राथमिकता दिएको देखिनँ। व्यवहार तथा आचरणका कुरामा कुनै मतलबै नगरेको भेटेको छु। जहाँ शिक्षा लिइन्छ त्यहीँ अनुशासन भएन भने कस्तो शिक्षा पाइएला ? यति कुरा मात्रै सुधारियो भने देश शिक्षित बन्ने निश्चित छ, नेपालको भविष्य सुन्दर छ। 

किन यति साह्रो चित्त दुखाउनुभयो ?
म एउटा लामा हुँ। म बस्ने गुम्बा नै सबै चिज हुन्छ। त्यो मेरो शिक्षालय हो। मेरा लागि त्यो नै संसार हो। मेरो मन त्यसैमा रम्छ। त्यस्तै, विद्यार्थीका लागि विद्यालय भनेको सबैभन्दा महत्वको कुरा हुनुपर्छ। त्यो वातावरण बनाइदिने भनेको शिक्षक तथा अभिभावकले हो।

  • जो कोरियामा सानो गुम्बामा बस्छिन्। अनुयायीले चढाएको भेटी र कसैले दिएको सहयोग बटुल्छिन्, आफ्नो संस्था ‘हेल्पिङ रोड्स’ मार्फत नेपालका स्कुलहरूलाई सघाउन आउँछिन्। 
  • बुद्धको ज्ञान नेपालको सबैभन्दा ठूलो सम्पत्ति ठान्छिन् उनी। तर, गौतम बुद्धको देशमै त्यसको बेवास्ता देख्दा भक्कानिन्छिन्।  
  • यहाँका कक्षा कोठामा बिजुली नदेख्दा उनको मन दुख्छ। गतिला स्कुल भवनमा सरसफाइसम्म नहुँदा सम्झाउँछिन् तर वर्षौंदेखि नसुध्रिएको पाउँदा बिरक्तिन्छिन्।

मैले विगत १३ वर्षदेखि नजिकैबाट नियालिरहेका स्कुलहरू लगभग उस्तै अवस्थाका छन्। जुन १३ वर्ष अगाडि थिए। हामीले बारम्बार भन्यौं पनि। सुधारिन नचाहनु भएको हो कि, ज्ञान नै नभएको हो कि, मन नलागेर हो बुझ्नै सकेको छैन। हामीले जति भने पनि त्यहाँ परिवर्तन आएन।

तपाईंलाई नेपालको शिक्षामा थप केही गर्न मन छ ? 

म आर्थिक रूपमा सबल बन्दै गएँ भने नेपालको एउटा स्कुलमा बसेर त्यसलाई नमुना बनाउन मन छ। अहिले हामी जे गरिरहेका छौं, त्यो कुनै ठूलो काम होइन, सानो र साधारण गरेका छौं। सबैले तल्लो तहबाट परिवर्तनमा ध्यान दिए हरेक सफलता सम्भव छ जस्तो लाग्छ मलाई।

  •  आफ्नो बालबच्चालाई शिक्षामा रोक लगाउनुहुन्छ भने तपाईं गरिब हो। 
  •  मानव जातिलाई शिक्षाको ज्योति छर्नु भनेको सबैभन्दा ठूलो धर्म हो। 
  •  म धेरै स्कुलमा गएँ। हेरेँ। कक्षाकोठा छन्, तर अँध्यारा। बिजुलीसम्म छैन। 
  •  मैले कुनै पनि स्कुलमा सरसफाइलाई प्राथमिकता दिएको देखिनँ। 
  •  जहाँ शिक्षा लिइन्छ त्यहीँ अनुशासन भएन भने कस्तो शिक्षा पाइएला ? 
  •  मैले विगत १३ वर्षदेखि नजिकैबाट नियालिरहेका स्कुलहरू लगभग उस्तै अवस्थाका छन्। 
  •  नेपालको एउटा स्कुलमा बसेर त्यसलाई नमुना बनाउन मन छ। 
  •  बुद्धमार्गमा त्यत्तिकै गन्तव्यमा पुग्ने भन्ने हुँदैन। कर्म अनिवार्य चाहिन्छ। 
  •  धर्म भनेको आफूले उपलब्धि गरेको कुरालाई संसारसामु बाँड्नु हो।
  • ­ बुद्धको ज्ञान यो देशको सबैभन्दा ठूलो सम्पत्ति हो।  

मैले १ वर्ष यहीँ बसेर स्कुल सुधार्छु भनेँ। त्यो केही नलागेर भनेको हुँ। यसरी गर्न सकिन्छ भनेर देखाउन भनेको हुँ। सबैभन्दा ठूलो कुरा भनेको शिक्षकले आफ्नो गुण बदल्नैपर्छ। अनि मात्रै विद्यार्थीले भनेको जस्तो शिक्षा पाउँछन्। 

यहाँको शिक्षामा केही पनि परिवर्तन भएको छैन त ? 

हामीले त्यत्रो ठूलो गर्‍यौं भनेर देखाउनुभन्दा पनि यहाँको शिक्षा तथा व्यावहारिक पक्षमा यहाँका मानिसको परिवर्तन हेर्न चाहेका हौं। उहाँहरूको चासोचाहिँ, आएका बेला जतिसक्दो धेरै दिए हुन्थ्यो भन्ने हुन्छ। पाएको कुरालाई कसरी सदुपयोग गर्ने भन्नेतर्फ ध्यान नै गएको छैन। यो कुराले मलाई ठूलो पीर परेको छ। 

सुध्रिएन भने ? 

अब पनि सुधार नहुनेजस्तो भयो भने हात झिक्ने कि के गर्ने भन्ने सम्बन्धमा यसपटक दमकमा छलफल कार्यक्रम गरेका थियौं। पहिले–पहिले स्कुल–स्कुलमा गएर हामी सहयोग बाँड्थ्यौं। यसपटक त्यसो गरेनौं। एकैपटक छलफल गरेर मात्रै बाँडेका छौं। सुधारिन्छौं। देखिने गरी सुधार गर्छौं भन्नुभएको छ। एकपटक हेर्छौं त्यसपछि के हुन्छ भविष्यले बताउनेछ। 

प्रसंग बदलौं, धर्म के हो ?

एउटा मानवजातिले सिक्नुपर्ने सबैभन्दा उच्चतम ज्ञान भनेको धर्म हो। साधारणतया हामी आपत पर्दा भगवानलाई सम्झन्छौं। यसो गरिदेऊ, उसो गरिदेऊ भन्छौं। बुद्ध धर्मले त्यस्तो सिकाउँदैन। म कुनै उद्देश्य लिएर हिँडे भने, त्यत्तिकै त पुगिँदैन। केही न केही कर्म त गर्नैपर्छ। त्यत्तिकै पुग्छु जस्तो लाग्नु गलत हो। बुद्धमार्गमा त्यत्तिकै गन्तव्यमा पुग्ने भन्ने हुँदैन। कर्म अनिवार्य चाहिन्छ। 

प्राप्तिका लागि पनि होइन र धर्म ? 

मैले धर्म गरेर केही उपलब्धि हासिल गरेँ भने म मात्रै खुसी भएँ। त्यो धर्म होइन। धर्म भनेको आफूले उपलब्धि गरेको कुरालाई संसारसामु बाँड्नु हो। 

धर्म र शिक्षाबीच पृथकता के छ, उसो भए ? 
मन र आत्मा भनेको अर्काले बोलेको खाएर बाँच्ने तत्व हुन् भने स्कुलमा पढाइने शिक्षा भनेको बाँच्नका लागि बनेका सीमित चिज हुन्। मानवजातिका लागि आवश्यक पर्ने सवै गुण सिकाउनु नै सबैभन्दा ठूलो शिक्षा हो। 

गौतम बुद्धको जन्मस्थल नेपाललाई धार्मिक दृष्टिकोणबाट कसरी हेर्नुहुन्छ ? 
गौतम बुद्धको अनुयायीका नाताले नेपाल मेरो आत्माको जन्मघर हो। त्यही भएर नै मेरा पाइला शैक्षिक सहयोगका नाममा यता बढेको हुनुपर्छ। त्यसैले त नेपालमा हाम्रो सहकार्य भइरहेको छ। हामीले सहयोग गर्न नेपाललाई छान्नु पनि आत्माकै खेल हो भन्ने मान्छु म। ­बुद्धले दिएको अमूल्य ज्ञानलाई संसारले पछ्याइरहेको अवस्थामा नेपालले बेवास्ता गरेको देख्दाचाहिँ मलाई अलि दुःख लागेर आयो।

केमा त्यस्तो कमजोरी देख्नुभयो ?
मान्छेको सुख केमा छ भन्ने मुख्य जरो नै बुद्धले पत्ता लगाएर संसारलाई बाँड्दा यहीँचाहिँ त्यसको भाव नपुगेको हो कि भन्ने भान भएको छ। त्यस्तो ज्ञानका बारेमा नजान्नु, जान्न नखोज्नु भनेको त त्योभन्दा दुःखको अर्को कुन विषय हुन सक्ला र ? बुद्धको ज्ञान यो देशको सबैभन्दा ठूलो सम्पत्ति हो। तर, त्यसलाई नेपालले चिन्न सकेको पाइनँ। मलाई त्यसैको ठूलो पीडा छ। 

यहाँ बुद्ध धर्मको व्यापकता हुनुपर्छ भन्न खोज्नुभएको हो ?
होइन, बुद्ध धर्म मान्नै पर्छ भन्ने होइन। बुद्धका ज्ञानलाई मात्रै बुझे पुग्छ। नेपाल समृद्ध बन्छ। सुन्दर अनि सवल बन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.