वीर अस्पताल बेथिति: डाक्टर हाजिरी गरेर हिँड्ने, सम्पर्कमा छैनन् कर्मचारी
काठमाडौंः देशको पुरानो अस्पताल वीरमा उपचार गर्ने योजनासहित देशका कुनाकुनाबाट बिरामी आउँछन्। अस्पताल आएका बिरामीले वीरको हालत त बुझ्छन् तर आउने योजना बनाएका बिरामी र आफन्तले अस्पतालको सेवाबारे धेरै ठूलो आसा राखेर आउँछन्। अस्पताल आउने योजनामा रहेका बिरामीको सोच जस्तो अस्पताल प्रशासनको काम भने चित्त बुझ्दो छैन।
अस्पतालमा बढेको बेथिति नियन्त्रण गर्न अस्पताल प्रशासनले विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था आएको छ। यहाँ कार्यरत कर्मचारी सम्पर्कमा छैनन् भने कार्यरत डाक्टर पनि हाजिरी गर्दै आफ्नो काम नै नगरी हिँड्ने गरेको पाइएको छ।
वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गत हो। जहाँ अस्पतालबाट बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको खोजी गर्नुपर्ने अवस्था आएको छ।
आज (आइतबार) सार्वजनिक सूचना जारी गर्दै अस्पतालले न्याम्सअन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्ससहित ६ जनाको नाममा ३० दिनभित्र हाजिर हुन निर्देश जारी गरेको छ।
न्याम्सले सूचना जारी गरेका स्टाफमा रजिष्टार ट्युटर डा. सृष्टि शाह र स्टाफ नर्सहरु पाँचौँ तहका जमूना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल छन् ।
तोकिएको अवधिमा उपस्थित नभए प्रतिष्ठानको कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारवाही गर्ने अस्पतालले जनाएको छ ।
यस्तै, यस अस्पतालमा कार्यरत चिकित्सकसमेत हाजिर गरेर निजी अस्पताल धाउने गरेका छन्। उनीहरू हाजिर मात्रै गर्न अस्पताल पुग्छन् त्यसपछि निजी क्लिीनीक धाउँछन् । एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा अन्नपूर्णसँग भने, ‘चिकित्सकहरू त झन् हाजिर गर्न मात्रै अस्पताल आउने गर्नुभएको छ। काम भने निजी अस्पतालमा गर्नुहुन्छ।’
वीर अस्पतालमा हुने यस्ता घटना नौला भने होइनन्। विगतमा पनि अस्पतालले यस्ता सूचना जारी गर्दै आएको छ। कहिले सेवामा चिकित्सक नहुने, कहिले कर्मचारी नहुने, कहिले अस्पतालमा औषधि नै हुने समस्या पनि दोहोरिरहने गरेको छ। आम नागरिकको स्वास्थ्य सेवासँग जोडिएको अस्पताल प्रशासन भित्रको यस्तो दुर्दशा समाधान गर्न सरोकार वाला निकाय गम्भीर बन्न आवश्यक छ।