ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार बैंकले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानहरूलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ।
कृषि व्यवसाय गरिरहेका ग्रामीण क्षेत्रका कृषकलाई उद्यमी बनाउन पुँजी लगायत प्राविधिक सीप विकास गर्न यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साथै दुग्ध व्यवसायको माध्यमबाट कृषकहरूलाई उत्पादनसँग जोड्न, थप रोजगारी सिर्जना गर्न र स्वरोजगारी बनाउन यसले सहयोग पुग्नेछ।
बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरू ल्याई आफ्ना ग्राहकलाई लाभान्वित गर्दै आएको छ।
ग्लोबल आइएमई मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दैआएको छ।
प्रतिक्रिया दिनुहोस !
