प्रधानमन्त्री प्रचण्डलाई शुभकामना
संसद्मा तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक पासा पल्टाउँदै प्रधानमन्त्री नियुक्त भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई त्यही कुर्सीबाट ढाल्न बनेको ‘दर्बिलो’ गठबन्धनको जुइनो यससँगै चुटिएको छ। र, ओलीकै साथमा दाहालले सिंहदरबारको सर्वोच्च कुर्सी हासिल गरेका छन्।
यससँगै देश नयाँ राजनीतिक गोरेटोमा अघि बढेको मात्र छैन, प्रधानमन्त्री प्रचण्डसामु चुनौतीका चाङ चुलिएका छन्। कतिपय चुनौती पहिला उनकै पालादेखिका बक्यौता हुन्। कतिपय विघटित गठबन्धनकालका। कतिपय राष्ट्रका दीर्घकालीन समस्याका रूपमा थाती रहँदै आएका। तेस्रो कार्यकाल ‘काम गर्नलाई’ भन्दै आएका दाहालको सफलता/विफलता तिनको पहिचान र सम्बोधनमा निर्भर हुनेछ।
देशमा राजनीतिक प्रणाली बदलिए। शासन फेरिए। सत्ता बदलिए। सत्ता–खेलमा समीकरण यता–उता भए। राष्ट्रको मुहार भने फेरिएन। सुशासन आएन। सूचना प्रविधिको जमानामा घरमै बसी–बसी सरकारी सेवा लिन पाउनुपर्ने हो। तर, अड्डा धाउँदा बासै बस्नुपर्ने जमानाको अन्त्य भएन। बरु अनेक झमेला देखाएर अल्झाउने/बल्झाउने रोग बढ्यो। शासनहरूले नसकेको/नगरेको काम मुख्य यही हो। दाहालले राजनीतिक र अन्य लाभ/हानि बिर्सिएर जनतालाई जनार्दन ठान्न सकून्। सुशासन प्रत्याभूत गरेर देखाऊन्। जनता रमाउने विषय यही हुनेछ।
नेपालमा के छैन ? प्राकृतिक र सांस्कृतिक सम्पदामा विश्वमै अग्रणी छौं हामी। सर्वोच्च शिखर सगरमाथा हाम्रो शिरमाथि समृद्धिको मुस्कान छरिरहेको छ। हिमाली खोला–नाला र झरनाबाट ‘मिनरल वाटर’ भन्दा धेरै गुणस्तरीय पानी कलकल बगेर समुद्रतर्फ गइरहेको छ। ‘हरियो वन नेपालको धन’ उक्तिमा सीमित छ। कृषिप्रधान हाम्रो देश आयातित खाद्यान्नका भरमा जनताका पेट भरिरहेको छ। विश्व प्रतिस्पर्धामा शैक्षिक गुणस्तर निम्न छ। त्यसमाथि अति व्यापारीकरण छ यसमा। जसका कारण बर्सेनि हजारौं युवा पढ्न बिदेसिएका छन्। स्वास्थ्यका अवसरबाट आमसर्वसाधारण वञ्चित छन्। कामको खोजीमा युवा जनशक्ति खाडी र मलेसियामा गएर पसिना बगाउन विवश छन्। अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित छैन। अर्थतन्त्र अधोगतिमा छ।
जे भएका छैनन् : नभएर होइन, नगरेर पछि परेका हौं हामी। त्यो बुझेर चल्न सकून्। आफू, दल र सीमित घेराभन्दा सिंगो देशका लागि गर्न सकून्। हार्दिक बधाई तथा शुभकामना।