‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ कार्कीलाई

काठमाडौं : यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ।
शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कार्कीलाई अवार्ड प्रदान गरिएको हो।
नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ। वुमन आइकन विजेतालाई एनसेलले ३ लाख रुपैयाँ नगद प्रदान गरेको थियो।
कार्कीलाई यो अवार्ड नेपाल सरकारका प्रमुख सचिव शंकर दास बैरागी, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल र एनसेलका प्रमुख मानव संशाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए। विजेतालाई नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र ह्वावेले क्लाउड सेवा पनि प्रदान गरेको थियो।
एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूको योगदानलाई सम्मान र उत्प्रेरित गर्न एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ।
गतवर्ष नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ पाएकी थिइन्।
महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ।
शिला कंसाकार कार्की नेपालको सूचना प्रविधि क्षेत्रको अग्रणी नाम हो। नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्वपूर्ण भूमिका खलेकी उनी नेपाल प्रहरीकी पूर्व डीआईजी समेत हुन्।
सिस्टम एनालिष्टका रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा सेवा आरम्भ गरेकी कार्की आइसिटी क्षेत्रबाट डीआईजीसम्म पुग्ने पहिलो महिला हुन्।
२८ वर्ष प्रहरी सेवामा बिताएकी कार्की सूचना प्रविधिमा महिलाहरूलाई आकर्षित गर्न र उत्प्रेरित गर्न तल्लिन छन्। सूचना प्रविधिका विभिन्न संघ, संस्थामा क्रियाशील उनले नेपाल प्रहरीलाई डिजिटल युगमा पुर्याउन महत्वपूर्ण योगदान दिएकी छन्।
प्रतिक्रिया दिनुहोस !
