मुस्ताङका खोला तथा तालहरू जमे (फोटोफिचर)
जोमसोम : मुस्ताङमा हिमपात नभएपनि चिसो भने अत्यधिक बढेको छ।
अत्यधिक चिसोले मुस्ताङका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन्। चिसोले मुस्ताङको दैनिक जीवनमा समेत असर पुर्याएको छ।
चिसोका कारण मुस्ताङको घरपझोङ-५ कैसाङ क्याम्पस्थित क्षमा ताल पुरै बरफ बनेर जमेको प्रचण्ड डंगोलले जानकारी दिए।
घरपझोङको पश्चिमतर्फ पर्ने निलगिरी हिमालको फेंदमै अवस्थित क्षमा ताल चिसोले जमेको डंगोलले बताए।
समुन्द्री सतहदेखि करिव ३२ सय मिटरको उचाइमा क्षमा ताल छ। यसैगरी कैशाङकै सैनिक उच्चशिखर शिक्षालय नजिकैको निलगिरी ताल पनि चिसोले जमेको हो।
यसैगरी उपल्लो मुस्ताङको नरसिंह खोला, समरखोला, घिलिङ खोला, घमी खोला, चराङ खोला, लोमान्थाङ खोला र छोसेर खोला चिसोले जमेको लोमान्थाङका सबइन्जिनीयर उदय घिमिरेले जानकारी दिए।
चालु वर्षको पुस महिनाको आधा बितिसक्दा समेत हिउँ परेको छैन। यद्यपि हिमपात नभएपनि उपल्लो मुस्ताङमा बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङका स्थानीय टसी आङ्ग्या गुरुङले जानकारी दिए