एनसेलले घटायो पेएजयूगो भ्वाइस कल शुल्क

काठमाडौं : एनसेलका प्रिपेड ग्राहकहरूले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्छन्।
एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक प्रतिमिनेट १.६२ रुपैयाँ कायम गरेको छ।
प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दाअर्थात पेएजयूगोको नयाँ महशुल दर आज आइतबार (पुस १७) देखि लागू भएको छ। यसअघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा कर बाहेक १.९९ रुपैयाँ शुल्क रहेको थियो।
यो नयाँ शुल्क लागु भएसँगै एनसेलका ग्राहकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर करसहित प्रतिमिनेट मात्र २.०५ रुपैयाँमा कल गर्न सक्छन्। यसअघि यो शुल्क करसहित २.५२ रुपैयाँ रहेको थियो।
ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग बिना कुनै प्याकेज अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले बताएको छ।
आफ्ना ग्राहकहरूलाई गुणस्तरिय सेवा सुलभ दरमा प्रदान गर्दै उत्कृष्ट सेवा अनुभव प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेका एनसेलले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
