चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
जोमसोम : अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प भएको छ।
मंसिरको अन्तिम महिनादेखि विकास निर्माणको काम ठप्प भएको हो। चिसोले रोकिएका कामहरू फागुन/चैत्र महिना पछि मात्र नियमित हुने छ।
चिसोमा फिल्डमा पुगेर काम गर्न सक्ने अवस्था नहुने तथा ढलान चिसोले सेट नहुने भएकाले पूर्वाधार निर्माणको काम रोकिएको सम्बन्धित कार्यालयहरूले बताएका छन्।
राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा आशिंक सडकको काम भएपनि मुस्ताङ खण्डमा सडकको काम चिसोले प्रभावित बनेको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए।
मुस्ताङको घाँसादेखि उत्तरी कोरलासम्मका विकास योजनाका काम रोकिएको छ। जसमा सडक, पुल, ड्रेन, खानेपानी, सिँचाइ, नदी नियन्त्रणलगायत पालिकाका टुक्रे योजनाहरू रहेका छन्।