एमाले प्रदेश १ को प्रमुख सचेतकमा भण्डारी
विराटनगर : नेकपा (एमाले) प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन भएका छन्।
प्रमुख सचेतक चयनका लागि एमाले संसदीय दलको बैठक बिहीबार बसेको थियो। सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारीलाई एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रमुख सचेतक नियुक्त गरेका हुन्।
भण्डारी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट सुनसरीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। उनी एमाले सुनसरीका अध्यक्षसमेत हुन्।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद (प्रदेशसभा सदस्य) रहेका छन्। प्रदेशको ठूलो दल एमालेबाट प्रदेशसभामा २५ जना प्रत्यक्ष र १५ जना समानुपातिक सांसद रहेका हुन्।