नवौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने १६ झापाली खेलाडीलाई सम्मान
झापा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने झापाका खेलाडीहरूलाई नगदसहित सम्मान गरिएको छ।
भद्रपुरस्थित झापा जिल्ला खेलकुद विकास समितिले बिहीबार मेची रङ्गशालामा आयोजना गरेको एक कार्यक्रमकाबीच पदक जित्ने १६ जना खेलाडीलाई नगदसहित सम्मान गरेको हो।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कांस्य पदक जितेको थियो। नगदसहित सम्मानित हुनेहरूमा स्वर्ण पदक जित्ने बक्सिङकी स्वर्णधारी त्रिसा जवेगू र आइटिएफ तक्वान्दोका रोशन मगर छन्।
त्यस्तै, रजत पदक जित्नेहरू बक्सिङका सुस्मिता राई र अविनय राई, आर्चरीका योगिता काम्बाङ र स्मृति उप्रेती, बुद्धिचालकी कृति सरा अधिकारी, पौडीका प्रारम्भ भण्डारी, सेपाताक्रोका सुशील विश्वकर्मा छन्।
त्यसैगरी कांस्य पदक जित्नेहरू बुद्धिचालकी खुश्बु थापा र राजन सुवेदी, जुडोका निश्चल राई, मङ्गलु मेचे र प्रेम गुरुङ, कुस्तीका विशाल बुढाथोकी र रेणुका राजवंशी छन्।
सोही कार्यक्रममा खेलकुद विकास समिति झापाका पूर्व अध्यक्ष शङ्कर थापाले व्यक्तिगत रुपमा पदकधारी खेलाडीलाई प्रोत्साहन स्वरूप नगद रकम प्रदान गरेका थिए।
समितिका अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा तथा प्रदेश खेलकुद विकास बोर्ड १ नम्बर प्रदेशका सदस्य सचिव हंसराज वाग्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकाल, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दीपेश ढकाल लगायतले खेलाडीलाई सम्मान पत्र प्रदान गरेका थिए।
सोही कार्यक्रमको अवसरमा समितिका पूर्व अध्यक्ष शङ्कर थापा, बक्सिङ प्रशिक्षक डम्बर लिम्बू, आइटिएफ तेक्वान्दो प्रशिक्षक नवीन तामाङ, पूर्व कार्यालय प्रमुख टहलदास मैनाली र पूर्व लेखापाल देवी कार्की न्यौपानेलाई पनि सम्मान गरिएको थियो।