शीतलहरले सुनसरीको जनजीवन प्रभावित
धरान:दुई दिनदेखिको शीतलहरका कारण सुनसरीको जनजीवन प्रभावित बनेको छ । जिल्लाको धरान,इटहरी,इनरुवा,दुहबीलगायतका स्थानमा शीतलहर र बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित बनेको हो ।
जाडोका कारण वृद्धवृद्धा र केटाकेटी बढी प्रभावित भएका छन्। जाडो अत्याधिक बढेसँगै घर,टोल र विद्यालयमा आगो बालेर जाडो भगाउन थालिएको छ ।
अत्याधिक जाडोका कारण विद्यालय प्राङ्गणमा आगो बालेर ताप्नु परेको सहिद स्मृति मावि धरानकी छात्रा सरु राइले बताइन् । उनले जाडो बढे सँगै विद्यालयसम्म आउन समेत समस्या भएको बताइन् ।
बाक्लो हुस्सु र कुहिरोका कारण जिल्लाभर दिउँसै अन्धकार भएको छ । सडक,गाउँटोलसमेत नदेखिएका कारण सर्बसाधारणलाई आवत जावतमा समस्या परेको छ ।
जाडो र हुस्सुका कारण शहरी क्षेत्रमा दाउरा अभावका कारण आगो बाल्न नपाएको धरान-१५ का डिल्ली काफ्लेले बताए ।
बाक्लो हुस्सु र कुहिरो लागेका कारण यातायातका साधन संचालनमा गम्भीर समस्या भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँले बताए ।
उनले बाक्लो हुस्सुका कारण सडक नदेखिएपछि यातायातका सधनहरु बत्ती बालेर सञ्चालनमा ल्याइएको बताए । इलाका प्रशासन कार्यालय धरानका प्रमुख उपसचिव चुडाराज भट्टराईले एक्कासी जाडो बढेकाले जाडोबाट बच्न सबैलाइ सचेत हुन अनुरोध गरेको बताए।