प्रदेश १ मा अवैध गाँजाको धन्दा, नियन्त्रण चुनौतीपूर्ण
विराटनगर : नेपालको प्रचलित कानुनले गाँजालाई लागूऔषध मानेको छ। कानुनले दण्डनीय मान्दै उत्पादन, ओसारपसार, कारोबार र प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।
तर, कानुनविपरीतको गाँजाको धन्दा भने बढेको छ। सुरक्षाकर्मीलाई छलेर अवैध उत्पादन, प्रयोग, ओसारपसार, कारोबार र तस्करी तीव्र रूपमा भइरहेको छ। पहाडी जिल्लामा उत्पादित गाँजा गिरोहले भारततिर कटाउने गरेका छन्। नियन्त्रण निक्कै चुनौतीपूर्ण बनेर गएको छ। यद्यपि सुरक्षा निकायले नियन्त्रण प्रयास गरिरहेका छन्।
मोरङको रंगेली नगरपालिका–१ बबियाबाट प्रहरीले गत आइतबार ३ सय ५० किलोग्राम गाँजा बरामद गर्यो। मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाईछिपाई राखेको अवस्थामा १५ बोरा गाँजा बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। उनका अनुसार राजवंशीसहित यसको ओसारपसारमा संलग्न धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई पक्राउ गरी लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ।
प्रारम्भिक अनुसन्धानबाट राजवंशी र राई गाँजाको ओसारपसार, कारोबार एवं तस्करीमा संलग्न रहेको खुलेको छ। एसपी कोइरालाका अनुसार दुवै जनाको मिलेमतोमा धनकुटाबाट ल्याई भण्डारण गरिएको गाँजा भारत कटाउने तयारी थियो।
सुनसरीको कोसी गाउँपालिका–३ बाट सशस्त्र प्रहरीले गत मंसिर ७ गते २ सय १७ किलोग्राम गाँजा बरामद गर्यो। तरकारी (बन्दाकोभी) लिएर धनकुटाबाट जनकपुरतिर जाँदै गरेको को १ च ८५२५ नम्बरको पिकअपबाट ८ वटा बोरामा ‘प्याक’ गरिएको गाँजा बरामद भएको थियो। चालक फरार बनेपछि सशस्त्रले पिकअपसहित गाँजा र तरकारी नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीलाई बुझायो।
सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बाट प्रहरीले गत कात्तिक २२ गते १ सय ७५ किलोग्राम गाँजा बरामद गर्यो। सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार ओसारपसारमा प्रयोग गरिएको बा ११ च ३०४२ नम्बरको स्कोरपिओ गाडीसहित चालक इटहरी उपमहानगरपालिका–४ का ३१ वर्षीय मनिष दर्नाल र सहचालक ३१ वर्षीय योगेन्द्र बजगाईं पक्राउ परे। गाँजासहित पक्राउ परेकाको साथबाट १ लाख १ हजार ४ सय २५ रूपैयाँ नगदसमेत बरामद भएको ढकालले बताए।
विराटनगर महानगरपालिका–१४ बाट प्रहरीले साउन १८ गते ६१ किलोग्राम गाँजा बरामद गर्यो। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले को २ ह ४६१० नम्बरको सीटी सफारीमा गाँजा फेला पारेको हो। प्रहरीलाई देख्नासाथ सफारी चालक फरार बने।
प्रदेश १ मा पछिल्लो समय नेपाल र सशस्त्र प्रहरीले ठुल्ठूला परिणाममा गाँजा बरामद गरिरहेका छन्। नेपाल–भारत सीमा क्षेत्रनजिकबाट बढी गाँजा बरामद हुनुले यसको धन्दा बढ्दै गएको पुष्टि हुन्छ। नेपालमा उत्पादित गाँजा भारततिर तस्करी भइरहेको छ। तर, गाँजा भारतबाट नेपालतिर भने तस्करी भएको कुनै रेकर्ड छैन।
चालु आर्थिक वर्षको साउनयता मात्रै प्रदेश १ का विभिन्न जिल्लाबाट २ हजार २ सय किलोभन्दा बढी गाँजा बरामद भएको छ। ५७ जना पक्राउ परेका छन्। नेपाल प्रहरीले १ हजार २ सय ८९ र सशस्त्र प्रहरीले ९ सय २७ किलोग्राम बरामद गरेका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार सबैभन्दा बढी मोरङबाट ६ सय ५५ किलोग्राम बरामद भएको छ। त्यसबाहेक सुनसरी, उदयपुर, धनकुटा, झापा र खोटाङबाट गाँजा बरामद भएको उनले बताए।
एसपी राईका अनुसार साउनयता मात्रै गाँजासँग सम्बन्धित लागूऔषध ऐनअन्तर्गतको ४६ वटा मुद्दा दर्ता भएका छन्। मुद्दामा ५४ जना पुरुष र ३ जना महिला गरेर ५७ जनालाई प्रतिवादी बनाइएको उनले बताए।
प्रहरी स्रोतका अनुसार माग उच्च रहेको र महँगो मूल्यमा बिक्री हुने भएकाले पूर्वी पहाडी जिल्लामा उत्पादित अवैध गाँजा कारोबारमा संलग्नले विभिन्न सवारीसाधन तथा बाटाको प्रयोग गरेर भारत कटाउने गरेका छन्। नेपालमा प्रतिकिलो ७ देखि १० हजारसम्ममा किनबेच हुने गाँजा भारत पुर्याएपछि २० हजार रूपैयाँ हाराहारीमा बिक्री हुने गरेको प्रहरी स्रोतले बतायो।
सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरी गाँजा नियन्त्रण गर्न नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाउँदै कडाइ गरिएको बताउँछन्। ‘पछिल्लो समय गाँजाको अवैध ओसारपसार बढेको छ,’ उनले भने, ‘नियन्त्रणका लागि आक्रामक रूपमा प्रस्तुत भइरहेका छौँ।’ सशस्त्रका डीआईजी गिरीले ओसारपसार र कारोबार हुने सम्भावित ‘रुट’को पहिचान गर्दै विशेष कडाइ गरिएको बताए।
पछिल्लो समय चिसोसँगै हुस्सु लाग्ने र शीतलहर चल्ने क्रम जारी छ। हुस्सुका कारण नजिकैको वस्तुसमेत देखिँदैन। ‘भिजिविलिटी’ कम भएको मौकामा गाँजाको ओसारपसार बढी हुने गरेको नेपाल प्रहरीका प्रदेश १ प्रमुख डीआईजी सुदीप गिरीले बताए। उनले गाँजाको सञ्जाल भत्काउन विशेष अभियान चलाइएको जानकारी दिए।
‘नेपालमा उत्पादन हुने गाँजाको बजार भनेकै भारत हो। नेपालमा पनि अलिअलि खपत हुन्छ,’ डीआईजी गिरीले भने, ‘१ हजार मिटरभन्दा माथिको उचाईमा उत्पादन हुने गाँजा धेरै ठाउँमा प्राकृतिक रूपमा आफैँ पनि उम्रिएर फैलिन्छ। कतिपयले अवैध खेती गर्छन।’ उनका अनुसार खेती हुने स्थानको पहिचान गरी फँडानी गरेर नष्ट गर्ने गरिन्छ।
‘भौगोलिक विकटताले सबै ठाउँमा पुग्न सम्भव छैन। फँडानीले मात्रै निमिट्यान्न पार्न सकिन्न। तर, आक्रामक कारबाही चलाइरहेका छौँ,’ उनले भने, ‘उत्पादन र ओसारपसार हुने स्थानको ‘रेकी’ गर्छौँ। गाँजाविरुद्ध शून्य सहनशीलताको नीति लिएका छौँ। गाँजाको ओसारपसार हुने मुख्य सिजन यही हो।’
गिरीका अनुसार जेठ, असारतिर लगाउने गरिएको गाँजा हुर्किदै दसैं पछाडिदेखि परिपक्व, अर्थात प्रयोग गर्न योग्य हुन्छ। ‘प्रहरीले सूचना नपाएका धेरै ठाउँहरुमा गाँजा उत्पादन हुन्छन्,’ उनले भने, ‘बढी मिहीनेत नपर्ने भएकाले खेती सहज छ।’ बर्खाका बेला ट्युब र बाँसको प्रयोग गरेर सप्तकोसी नदीबाट पनि गाँजा तस्करी हुने गरेको उनी बताउँछन्। ‘जल र स्थलमार्ग हुँदै तस्करी हुन्छ। जताततै सडक पुग्दा ओसारपसार गर्ने ‘रुट’ पनि धेरै भए,’ उनले भने, ‘त्यसले नियन्त्रणमा चुनौती थपेको छ। तर, सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मीसँग समेत सहकार्य गरेर विस्तृत अध्ययन गर्दै नियन्त्रणको प्रयास जारी राखिएको छ।’
उनका अनुसार भारतमा औषधि बनाउन उत्पादनका लागि सरकारले अनुमति दिन्छ। तर, नेपालबाट भने सुकाएर तयार पार्दै सेवनका लागि लैजाने गरिन्छ। उचित वातावरणका कारण नेपालमा उत्पादित गाँजा उच्च गुणस्तरको मानिने उनी बताउँछन्। भारतसँगको खुला सीमा र बढ्दो सडक सञ्जाल गाँजा तस्करी नियन्त्रणको मुख्य चुनौती रहेको डीआईजी गिरीले बताए।
उनका अनुसार प्रदेश १ का धनकुटा, भोजपुर, उदयपुर, खोटाङसमेतका पहाडी जिल्लामा गाँजा उत्पादन हुन्छ। करिब ६७ बिघा क्षेत्रफलमा लगाइएको ६ लाख ६६ हजार ५ सय ५० बोट गाँजा साउनयता नष्ट गरिएको डीआईजी गिरी बताउँछन्।
नेपाल प्रहरीका पूर्वडीएसपी रामजी कटुवाल खुला सीमाले नेपालमा उत्पादन हुने गाँजा सहजै भारत पुग्ने गरेको बताउँछन्। कटुवाल नेपाल प्रहरीले प्रदेश १ मै पहिलोपटक सुनसरीको धरानमा सञ्चालनमा ल्याएको आसरा सुधारगृहका पहिलो व्यवस्थापक हुन्। उक्त सुधारगृहमा लागूऔषधको कुलतमा फसेकालाई मनोवैज्ञानिक परामर्शसहितको उपचार सेवा दिइन्छ।
‘लागूऔषध नियन्त्रण ऐन–२०३३ ले गाँजाको खेतीलाई प्रतिबन्ध गरेको छ,’ कटुवालले भने, ‘तर, खेती फस्टाउनुका साथै ओसारपसार, कारोबार, तस्करी तथा सेवनसमेत बढेको पाइन्छ।’ पछिल्लो समय युवा पुस्ता गाँजाको दलदलमा फस्दै गएको भनेर उनले चिन्ता व्यक्त गरे।
‘समाज र युवा पुस्ता गाँजामा गाँजिदै छ,’ उनले भने, ‘हजारौँ युवा यसको दलदलमा फस्नु चिन्ताजनक हो।’ उनका अनुसार प्रशासनको ध्यान नपुग्दा र चासो नदिँदा कतिपय ठाउँमा उत्पादन सहजै हुने गरेको छ। नियन्त्रणमा थप चासो नदिए अवस्था झन् विकराल बन्ने कटुवाल बताउँछन्।
‘युवा पुस्ता गाँजाको दुव्र्यसनमा फस्नु भनेको मुलुकको भविष्य चौपट हुनु हो,’ पूर्वडीएसपी कटुवालले भने, ‘यसको प्रयोगले अपराधको साम्राज्यलाई बलियो बनाउँछ।’ गाँजालाई वैध बनाउन खोजिनु जायज नहुने उनको तर्क छ। ‘भोटको राजनीति गर्नेले ‘पकेट’ क्षेत्रलाई हेरेर गाँजा वैध बनाउनुपर्छ भन्ने आवाज संसदमा उठाएको पाइन्छ। तर, यसले युवा पुस्ता र मुलुकको भविष्य तहसनहस बनाउँदै लगेको विषयमा कसैको ध्यान छैन,’ उनले भने, ‘युवाहरु लागूऔषधको लतमा फस्ने पहिलो खुड्किलो नै गाँजा हो। यो सेवन गर्नेहरु विस्तारै अन्य लागूऔषधको दुव्र्यसनमा फस्छन्।’
उनका अनुसार गाँजाले समाजमा अपराध पनि बढाउँदै छ। ‘गाँजामा डुबेपछि मान्छे अरु प्रकारका लागूऔषधतिर उन्मुख हुन्छ। लागूऔषधले स्वास्थ्य, इज्जत, सामाजिक प्रतिष्ठा, धनसम्पत्ति स्वाहा पारिरहेको छ,’ पूर्वडीएसपी कटुवाल भन्छन्, ‘सेवनका लागि पैसा अभाव भएपछि मान्छेले चोरी, डकैती गर्न थाल्छ। त्यससँगै जुनसुकै अपराध गर्नपनि मान्छे पछि हट्दैन।’ उनका अनुसार सुधारगृह जानेमध्ये १५ प्रतिशतजति गाँजाका दुव्र्यसनी हुन्छन्।
के भन्छन् मनोचिकित्सक ?
मानसिक रोग विशेषज्ञ डा. प्रभात चालिसे ।
कोसी अस्पताल विराटनगरका मानसिक रोग विशेष डा. प्रभात चालिसे गाँजा संसारमा धेरैभन्दा धेरै मान्छेले प्रयोग गर्ने लागूऔषधभित्र पर्ने बताउँछन्। ‘गाँजा सेवनको असर सिधै दिमागमा पर्छ। लट्ठ बनाउने हुँदा मान्छेलाई अरु कुनै कुराको वास्ता हुँदैन,’ उनी भन्छन्, ‘मानिसको निर्णय गर्ने क्षमतामा ह्रास ल्याउँछ। विभिन्न नकारात्मक असर पार्ने भएकाले गाँजालाई लागूऔषध भनेर व्याख्या गरिएको हो।’ मनोचिकित्सक चालिसेका अनुसार ५ सयभन्दा बढी सक्रिय केमिकल पाइने गाँजाको सेवन शरीरलाई निक्कै हानिकारक हुन्छ।
विभिन्न अध्ययन अनुसार गाँजालाई अरु लागूऔषध सेवन गर्ने पहिलो ‘स्टेप’ मान्ने गरिएको उनले बताए। डा. चलिसेका अनुसार गाँजाको सेवनले श्वासनलीमा असर पुग्ने, क्यान्सर गराउने, रोग प्रतिरोधी क्षमता घटाउने, महिला र पुरुषमा प्रजनन क्षमतामा ह्रास ल्याउने, मुटुमा असर गर्ने, उच्च रक्तचाप निम्तिने, शरीरमा अक्सिजनको कमी गराउने, सोच्नसक्ने क्षमता घटाएर गलत धारणा जगाउने, अपराधतर्फ उन्मुख गराउने, मानिसलाई डिप्रेशनमा लैजाने, उत्साहविहीन बनाउने, पठनपाठन एवं अध्ययनमा असर गर्ने, दिमागलाई कमजोर बनाउने, बिर्सिने बानीको विकास गराउने लगायतका समस्या पैदा गर्छ।
‘गाँजाले अनेक मानसिक तथा शारीरिक समस्या निम्त्याउँछ। मानिसलाई रोगी बनाउँछ,’ उनले भने, ‘रोगलाई बढाएर जटिल बनाउँछ। कार्यक्षमतामा ह्रास ल्याउँछ।’ गाँजालाई वैध बनाउनुपर्छ भन्ने ‘कन्सेप्ट’ भने फरक रहेको उनको तर्क छ। ‘गाँजामा पाइने केही तत्व औषधिका रूपमा प्रयोग हुन्छन्,’ डा. चालिसेले भने, ‘सरकारको निगरानी बिना यसलाई कानुनी मान्यता दिएमा दुरुपयोगले अवस्था झन् विकराल बनाउँछ।’ गाँजालाई वैध गराउने प्रशंग जोडतोडका साथ उठेपनि त्यसमा सेवनले प्राथमिकता पाउन नहुने तथा यसको असरलाई नजरअन्दाज गर्न नमिल्ने उनको राय छ।
निगरानी र नियन्त्रण गर्न नसकेपछि भारतको बिहारमा मदिरामै प्रतिबन्ध लगाउनु परेको प्रशंग केलाउँदै उनले भने, ‘नेपालमा पनि रक्सीमा त्यही अवस्था आइसक्यो। गाँजाको खुलेआम प्रयोग हुन थालेमा त्यसले उत्पन्न गराउने खराब परिस्थिति कल्पनाभन्दा बाहिरको कुरा हो। गाँजा सेवन नगरौं, स्वास्थ्य रहौँ।’
तर, वैध गरेर औषधिका रूपमा प्रयोग गर्ने गरी बाहिरी मुलुकमा ‘सप्लाई’ गर्दा भने मुलुककै आम्दानी बढ्ने र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने उनले बताए। वैधता दिने नाममा सेवनलाई भने निरुत्साहित नगरे परिस्थिति जटिल बन्ने डा. चालिसेको विश्लेषण छ। ‘औषधीय गुण भएको गाँजा कानुनी मान्यताका साथ सही सदुपयोग हुने हो भने राज्यकै अर्थतन्त्र सुधारमा मद्धत पुग्छ,’ उनले भने, ‘तर, सबल नियमन प्रणाली अपनाउन आवश्यक छ।’ गाँजालाई व्यावसायिक गरिँदा नियमनको पाटोलाई चुस्त नबनाए त्यो सबैभन्दा बढी प्रत्युत्पादक हुने डा. चालिसे बताउँछन्।
यस्तो छ कानुनी व्यवस्था
लागूऔषध नियन्त्रण ऐन–२०३३ अनुसार गाँजाको उत्पादन, ओसारपसार, किनबेच, निकासी, पैठारी र भण्डारण गर्ने व्यक्तिलाई परिणाम हेरेर ३ महिनादेखि १० वर्षसम्म कैद सजाय तथा ३ हजारदेखि १ लाख रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। ५० ग्रामसम्मलाई ३ महिना कैद र ३ हजारसम्म जरिवाना हुनसक्छ। ऐनअनुसार ५० देखि ५ सय ग्रामसम्मलाई १ वर्षसम्म कैद र ५ हजार रूपैयाँसम्म जरिवाना हुन्छ। कानुन अनुसार ५ सय ग्रामदेखि २ किलोग्रामसम्मलाई २ वर्षसम्म कैद र १० हजार रूपैयाँसम्म जरिवाना हुन्छ। १० किलोग्रामसम्मलाई १ देखि ३ वर्षसम्म कैद र २५ हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। १० किलोग्रामभन्दा बढी जति भएपनि २ देखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रूपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।
कानुनले २५ बोटसम्म खेती गर्नेलाई ३ महिनासम्म कैद र ३ हजार रूपैयाँसम्म जरिवाना तोकेको छ। त्योभन्दा बढी खेती गर्नेलाई ३ वर्षसम्म कैद र ५ हजार रूपैयाँसम्म जरिवाना हुनसक्छ।