प्रदेश १ मा मुख्यमन्त्रीका लागि दाबी पेस गरिँदै
प्रदेश १ मा एमाले,माओवादी,राप्रपा र जसपा सत्ता गठबन्धनमा छन्
विराटनगर : प्रदेश १ मा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सत्ता गठबन्धनले आज (आइतबार) प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेस गर्दै छ ।
प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्तिका लागि दिएको समय साँझ ५ बजेबाट सकिँदैछ । उनले एक साताको समय दिँदै संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न गत पुस १७ गते आह्वान गरेका थिए ।
दलहरुले छलफल गरेपनि केन्द्रमा भागबण्डा टुंगो नलाग्दा दाबी पेस गर्न अन्तिम समयसम्म कुर्नु परेको हो। नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन ४ दलको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी भइरहेको एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । एमाले,माओवादी,राप्रपा र जसपा सत्ता गठबन्धनमा छन् । प्रदेश प्रमुखले दिएको समय सकिनुअघि नै दाबी पेस गर्ने तयारी रहेको भण्डारीले बताए ।
‘बहुमत पुर्याएर दाबी पेस गर्न हामी तयारी अवस्थामा छौँ । काठमाडौं गएका माओवादीका साथीहरु फर्किएपछि सत्ता गठबन्धनमा आवद्ध दलका नेताको हस्ताक्षर लिएर ५ बजेअघि नै प्रदेश प्रमुखकोमा जाने हो,'उनले भने,‘केन्द्रमा शीर्ष नेताबीच प्रदेश १ मा एमालेकै नेतृत्वमा सरकार बन्ने मोटामोटी सहमति भइसकेको छ । त्यही अनुसार सत्ता गठबन्धनमा रहेका अरु दलको पनि साथ लिएर कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्दैछौँ ।’
प्रदेशमा मुख्यमन्त्री एमालेले पाएमा सभामुख आफूहरुले पाउनुपर्ने दाबी नेकपा (माओवादी केन्द्र)को छ ।
भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ मा जान नपरोस् भनेर आफूहरु सचेत रहेको जानकारी पनि दिए । उपधारा २ बमोजिम दलहरुको समर्थनमा मुख्यमन्त्रीका लागि कसैको दाबी आएन भने उपधारा ३ अन्तर्गत सबैभन्दा ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । उपधारा ३ मा जानु उपयुक्त नहुने भण्डारीले बताए ।
प्रदेशमा मुख्यमन्त्री एमालेले पाएमा सभामुख आफूहरुले पाउनुपर्ने दाबी नेकपा (माओवादी केन्द्र)को छ । तर,सभामुख कुन दलले पाउने भन्ने टुंगो लाग्न बाँकी रहेको भण्डारी बताउँछन् । उनका अनुसार दाबी पेस गरेपछि शपथग्रहणका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई बोलाउँदा पहिलो चरणमा सानो मन्त्रिपरिषद् बनाउने तयारी छ ।
मुख्यमन्त्रीमा एमाले र माओवादी दुवै दलले दाबी गर्दै आएका थिए । सत्तारुढ दलबाट बन्ने मन्त्रीहरुको पनि टुंगो लागेको छैन । कुन दलले कति र कुन मन्त्रालय पाउने भन्ने यकिनसमेत हुन बाँकी छ ।
९३ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका ४० सांसद (प्रदेशसभा सदस्य)छन् । माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सांसद रहेका छन् । नयाँ सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ ।
सत्तारुढ गठबन्धनबीच भागबण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको स्रोतले बतायो । स्रोतका अनुसार एमाले र माओवादीबीच प्रदेशको मुख्यमन्त्रीको कार्यकाल आधा–आधा बाँड्ने सहमति शीर्ष तहमा भएको छ । सहमति अनुसार सुरुमा एमालेले सरकारको नेतृत्व गर्नेछ । मुख्यमन्त्री एमालेले पाएपछि सभामुख माओवादीको भागमा परेको नेताहरु बताउँछन् ।
शनिबार बसेको शीर्ष नेताको बैठकले भागबण्डाको सहमति गरेपनि त्यसलाई सार्वजनिक गरिएको छैन । सहमतिलाई अन्तिम टुंगो दिनलाई गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ ।
शीर्ष नेताको बैठकपछि कुन प्रदेशमा कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने कुरा सार्वजनिक हुने माओवादी प्रदेश १ का प्रदेशसभा सदस्य गणेश उप्रेती ‘सुशील’ले बताए । बैठक सकिएपछि प्रदेश १ को सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी रहेको उनको भनाइ छ । यद्यपि प्रदेशको मुख्यमन्त्रीमा माओवादीको पनि दाबी कायमै रहेको उप्रेती बताउँछन् ।
९३ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका ४० सांसद (प्रदेशसभा सदस्य)छन् । माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सांसद रहेका छन् । नयाँ सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । प्रदेश १ मा ६० जना सांसदसहित सत्तारुढ गठबन्धन दुई तिहाइनजिक छ ।
हालसम्मको राजनीतिक परिदृष्यले नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) भने प्रतिपक्षमै बस्ने देखिएको छ । प्रदेशसभामा कांग्रेसका २९ र समाजवादीका ४ जना सांसद छन् ।