विराटनगरका मेयरको संयोजकत्वमा विराट गोल्डकप हुने

विराटनगरका मेयरको संयोजकत्वमा विराट गोल्डकप हुने

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको संयोजकत्वमा सातौं संस्करणको विराट गोल्डकप फुटबल हुने भएको छ। 

विराट गोल्डकप ट्रष्टले प्रतियोगिता आयोजना गर्न महानगरका मेयरलाई पहिलोपटक संयोजकको जिम्मेवारी दिएको हो। ट्रष्टद्वारा सोमबार साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी प्रतियोगिता संयोजनाको जिम्मेवारी मेयर कोइरालालाई दिइएको हो। 

ट्रष्टका अध्यक्ष सन्तोष बानियाले विराटनगरको प्रतिष्ठासँग जोडिएको ऐतिहासिक गोल्डकपको आगामी प्रतियोगिता मेयरको संयोजकत्वमा आयोजना हुने जानकारी दिए।

‘प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न महानगरसँगै फुटबल प्रेमीको भूमिका महत्वपूर्ण हुने छ,’ उनले भने, ‘गोल्डकप आयोजना गर्ने जिम्मेवारी महानगरकै अभिभावक (मेयर)लाई दिएका छौँ।’ 

कोइरालाको संयोजनमा आयोजना हुने सातौं संस्करणले गोल्डकपका सबालमा नयाँ आयाम कोर्ने विश्वास पनि बानियाले लिएका छन्। मेयर कोइरालाले विराटनगरको पहिचान र इतिहासलाई गोल्डकपले झल्काउने बताए।

विराटनगरको आर्थिक क्षेत्रलाई सहयोग पुर्‍याउन र खेल पर्यटनको विकास गर्न गोल्डकपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ। उनले गोल्डकपको पुरस्कार राशि पनि वृद्धि गरिने बताए। 

छैठौं संस्करणमा पुरस्कार राशि १५ लाख १५ हजार रूपैयाँ थियो। आगामी संस्करणबाट पुरस्कार राशिमा वृद्धि गरेर २० लाख ५१ हजार पुर्‍याउने तयारी गरिएको कोइरालाले बताए। उपविजेताले पाउने राशिलाई १५ लाख ५१ हजार पुर्‍याउने योजना रहेको उनको भनाइ छ। 

मेयर कोइरालाका अनुसार प्रतियोगिता सम्पन्न गर्न शुभाशिष कोइरालालाई सहसंयोजकको जिम्मेवारी दिइएको छ। प्रतियोगिता आयोजनाका लागि आगामी चैत ६ देखि १४ गतेसम्मको सम्भावित मिति तय गरिएको छ। तर, उक्त मितिलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुमोदन गरिसकेको छैन।  

‘प्रतियोगिता आयोजना गर्ने सम्भावित मिति हामीले सहमतिमा तय गरेका हौँ। तर, एन्फाबाट मान्यता पाउन बाँकी छ,’ सहसंयोजक कोइरालाले भने, ‘केही दिनभित्रमा एन्फाले तालिका उपलब्ध गराउनेमा विश्वस्त छौँ। एन्फाको तालिका अनुसार प्रतियोगिता आयोजना हुने छ।’ 

प्रतियोगितामा सहभागी हुने टिमका बारेमा पनि यकिन हुन बाँकी रहेको उनले बताए। प्रतियोगितामा एउटा घरेलुसहित ६ वटा नेपाली र २ वटा विदेशी गरेर ८ वटा टोलीले सहभागिता जनाउने उनको भनाइ छ। 

विराटनगरको शहीद रंगशालामा रात्रिकालीन प्रतियोगिता आयोजना हुने जनाइएको छ। यसअघिको छैठौं संस्करणको उपाधि सशस्त्र प्रहरी बल एपीएफले जितेको थियो। एपीएफले भारतको पञ्जाव पुलिस क्लबलाई १–० गोलले स्तब्ध बनाउँदै उपाधि रक्षा गरेको हो। 

विराटनगरमा २०१८ सालदेखि महेन्द्र गोल्डकपका नाममा प्रतियोगिता हुँदै आएको थियो। विवादका कारण २०५९ सालदेखि प्रतियोगिताले निरन्तरता पाउन सकेन। 

तर, मुलुकको राजनैतिक परिवर्तनसँगै २०६७ बाट नाम फेरेर २०६८ सालदेखि विराट गोल्डकपका रूपमा प्रतियोगिता आयोजना गर्न थालियो। विराट गोल्डकप २०६८ र २०६९ आयोजना भयो। 

२०७० र २०७१ मा प्रतियोगिताले निरन्तरता पाएन।  त्यसपछि २०७२, २०७३ र २०७४ सालमा आयोजना गरियो। २०७४ सालमा अस्थायी फ्लडलाइट जडान गरेर पहिलोपटक डे–नाइट (दिवा तथा रात्रिकालीन) प्रतियोगिता आयोजना गरियो। २०७५ र २०७६ सालमा प्रतियोगिता भएन।

 २०७५ मा प्रतियोगिता आयोजनाको जिम्मा कसैले लिएन। २०७६ मा कोरोना महामारीका कारण गोल्डकप आयोजना सम्भव भएन। विराटनगरका युवा व्यवसायी मनोजविक्रम शाहको संयोजकत्वमा २०७७ सालमा भव्य हिसाबले रात्रिकालीन प्रतियोगिता सम्पन्न भयो। 

२०७८ मा निरन्तरता नपाएको विराट गोल्डकपको सातौं संस्करण भने मेयर कोइरालाको संयोजकत्वमा हुने भएको हो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.