प्रदेश १ को सभामुख बन्दै बाबुराम गौतम
विराटनगर : ओखलढुंगाबाट प्रदेशसभा सदस्य (संसाद) निर्वाचित बाबुराम गौतम प्रदेश १ को सभामुख बन्ने भएका छन्। नेकपा (माओवादी केन्द्र)बाट सांसदमा विजयी भएका गौतमलाई पार्टीले सभामुखको उम्मेदवार बनाएको हो।
सत्तारूढ गठबन्धनमा रहेका नेकपा (एमाले)सहितका दलको समर्थनमा उनले सभामुखमा मंगलबार मनोनयन दर्ता गराएका छन्। मनोनयको समय साँझ ५ बजेसम्मलाई तोकिएको छ।
त्यसपछि दाबी विरोधको समय राखिएको छ। अनि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ। प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले सभामुखको उम्मेदवार नउठाउने भएका छन्। प्रतिपक्षीले उम्मेदवार नउठाएका कारण ओखलढुंगाको ‘ख’बाट निर्वाचित गौतम सभामुख बन्ने पक्का भएको हो।
यद्यपि सभामुखको निर्वाचन आगामी बिहीबारका लागि तोकिएको छ। तर, एकल उम्मेदवारी परेमा सर्वसम्मत घोषणा हुने छ। गौतमलाई सत्तारूढ एमाले, माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)का ६० जना सांसदको समर्थन छ।
सभामुखका लागि माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरु राजेन्द्र कार्की, नारायण बुर्जामगर र गीता तिमल्सिना पनि आकांक्षी थिए। तर, माओवादीको प्रदेश संसदीय दलको बैठकले गौतमलाई सभामुखको उम्मेदवार बनाउने निर्णय लिएको हो।
कार्की र बर्जुमगर मन्त्री बन्ने लाइनमा छन्। ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना सांसद छन्। प्रतिपक्षी दलहरु कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ जना सांसद छन्।
केन्द्रमा सत्तारूढका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार प्रदेश १ मा मुख्यमन्त्री एमाले र सभामुख माओवादीको भागमा परेको थियो। त्यसअनुरुप एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेशको मुख्यमन्त्री बनिसकेका छन्।
तर, माओवादी भने कार्की नेतृत्वको सरकारमा हालसम्म सहभागी भएको छैन। त्यही भएकाले मुख्यमन्त्री कार्कीले माओवादी बिनाको ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। मुख्यमन्त्रीको कार्यकाल आधा–आधा हुनुपर्ने अड्को थाप्दै माओवादी सरकारमा सहभागी नभएको हो।
कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीबाट सभामुखको उम्मेदवार नउठाइएको बताए। ‘हामीले सभामुखको उम्मेदवार नउठाउनुमा राष्ट्रिय राजनीतिको प्रभाव र केही आन्तरिक कारणहरु छन्,’ उनले भने, ‘तर, उपसभामुखमा भने कांग्रेसले उम्मेदवारी दिन्छ।’
उपसभामुख दाबी गर्नकै लागि कांग्रेसले सभामुखमा उम्मेदवारी नदिएर सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको थापाको दाबी छ। उनले पार्टीबाट कसलाई उपसभामुखको उम्मेदवार बनाउने भन्ने यकिन भइनसकेको पनि बताए। ‘उपसभामुखको उम्मेदवारको टुंगो लागेको छैन,’ उनले भने, ‘पार्टीभित्र छलफल गर्न बाँकी नै छ।’
उपसभामुखको निर्वाचन आगामी ३० गतेलाई तोकिएको छ। उम्मेदवारले २९ गते मनोनयन दर्ता गर्नुपर्ने छ।