विराटनगर विमानस्थलमा कन्भेयर बेल्ट जडान हुँदै
विराटनगर : यात्रुहरूको सहजतालाई दृष्टिगत गर्दै विराटनगर विमानस्थलले आगमन कक्षमा कन्भेयर बेल्ट जडान सुरु गरेको छ।
करिब महिना दिनभित्रै काम सम्पन्न गर्ने गरी विमानस्थलले कन्भेयर बेल्ट जडानको कार्य अघि बढाएको हो। यतिबेला विमानस्थलको टर्मिनल भवन छेउमै बेल्ट जडानको काम धमाधम भइरहेको छ।
माघ दोस्रो सातादेखि सेवा शुभारम्भ गर्ने तयारीका साथ बेल्ट जडानको प्रक्रिया अघि बढाइएको विराटनगर विमानस्थलले जनाएको छ।
विमानस्थलका अनुसार यसले आन्तरिक उडानबाट आएका ब्यागेज र यात्रुका अन्य सामानको उचित व्यवस्थापनमा सघाउ पुग्ने विश्वास लिइएको छ।
कन्भेयर बेल्ट जडान भइसकेपछि यसले ब्याग संकलनका निम्ति विमानस्थलमै हानाथाप गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुने अपेक्षा गरिएको विराटनगर विमानस्थल प्रमुख रिन्जी शेर्पाले बताए।
हाल विराटनगर विमानस्थलमा कन्भेयर बेल्ट जडानको ३० प्रतिशत कार्य सम्पन्न भइसकेको छ। काठमाडौंको सिटीएचएनटीई जेभीले बेल्ट जडानको ठेक्का लिएको छ।
विमानस्थलमा विस्तार गरिने कन्भेयर बेल्ट ४० मिटर लम्बाईको हुने निर्माण कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसले एक घण्टामा २ हजार ४ सय ब्यागेज क्लियर गर्नेछ।
नेपाल नागरिक उडड्यन प्राधिकरणले गत चैत्रदेखि नै विराटनगरसहित देशका ३ वटा विमानस्थलमा ‘कन्भेयर बेल्ट’ को सुविधा थप योजना अघि सारेको थियो।
योजनाबमोजिम प्राधिकरणले विराटनगरसहित नेपालगञ्ज र धनगढी विमानस्थलमा पनि एकैसाथ कन्भेयर जडानको प्रक्रिया अगाडि बढाउन बोलपत्र समेत खुलाएको थियो।
सोही अनुसार हाल विराटनगर विमानस्थलबाट यसको काम सुरु गरिएको हो। विमानस्थलमा यात्रुहरू जहाजबाट ओर्लिएपछि आफ्नो लागि पर्खिनुपर्ने अवस्थाको अन्त्यका निम्ति बेल्टको सुविधा थप गरिएको बताइएको छ।
यसले विमानस्थलको प्राविधिक सुविधा अभिवृद्धि हुनुका साथै यात्रुहरूले अन्तराष्ट्रिय मापदण्ड अनुरूपको सेवा समेत प्राप्त गर्ने जानकारी दिइएको छ।
विराटनगर विमानस्थलबाट हाल भने दैनिक १५ देखि १७ वटा नियमित उडान हुने गरेका छन्।