भृकुटीमण्डपमा इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाडौं : आगामी माघ ६ देखि माघ ८ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स (एमएसएस), एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (ईटीएसआईपीएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको यो प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी भएको दाबी गरिएको छ।
उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीको स्टल रहनेछन्। नेपाल इलेक्ट्रिक पावर लाइट्स् प्रदर्शनीले आधारभूत रूपमा तीन सोचको समायोजन गर्न खोजेको आयोजकको दाबी छ। जसमा प्रदर्शनी, सम्मेलन र साझेदारी रहेका छन्।
नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजश्व सन् २०२२ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको छ।
‘इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको संख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ। नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण पनि यो प्रदर्शनीमा भारतीय उपमहाद्वीप (भारतवर्ष)का सरोकारवालाको सहभागिता उल्लेखनीय हुने आयोजकले बताएको छ।
नेपालको विद्युतीकरण दर दक्षिण एसियाली क्षेत्रका अन्य देशको तुलनामा करिब ७६ प्रतिशत छ। नेपाल जलविद्युत, सौर्य, वायु, बायोग्यास र विभिन्न प्रकारका बायोमास उर्जा समावेश गरी नवीकरणीय उर्जाका स्रोतहरूले भरिपूर्ण छ।’
यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा आगन्तुकहरूलाई प्रवेश निःशुल्क गराइएको आयोजकले जनाएका छन्। विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइनेछ।
प्रतिक्रिया दिनुहोस !
