ह्वाट्सएपमा म्यासेज पठाएर बैंक खाता ह्याक
विराटनगर : के तपाईको ह्वाट्सएपमा कुनै म्यासेज अपरिचित नम्बरबाट आयो ? त्यस्तो म्यासेज नखोल्नु होला। म्यासेज आएको मोबाईलमा बैकिङ कारोबार रहेको छ भने तपाईंको बैंकको खाता ह्याक हुन सक्छ।
विराटनगरमा अपरिचित नम्बरबाट आएको त्यस्तै म्यासेज खोलेर हेर्दा एकजना युवा व्यवसायीको १ लाख ४७ हजारभन्दा बढी रकम बैंकको खाताबाट गायव भएको छ। विराटनगर ६ स्थित जमाली प्रेस सञ्चालन गर्दे आएका नदिम दानिस जमालीको एनआईसी एसिया बैंकको खाताबाट दुई पटकमा १ लाख ४७ हजार रकम गायब भएको हो।
कात्तिक २० गते बिहान १० बजे जमालीको ह्वाटसएप नम्बरमा एउटा म्यासेज आयो। पीडीएफ फाईलमा आएको म्यासेज प्रेस सञ्चालक भएकाले कुनै संस्थाको होला भन्दै खोले। जमालीका अनुसार अपरिचित नम्बरबाट आएको उक्त फाइल खोल्दा एउटा लिंक खुल्यो जमालीले भने, ‘लिंकमा क्लिक गर्दा महिलाका नग्न तस्बिरहरू खुले। हतारहतार फाईलहरू डिलिट गरेँ तर एकैक्षणमा मोबाइलका सवै एप्सहरू आफैं चल्न थाले। लामो समय मोबाइल ह्याङ भयो। अफ गर्न खोजेँ भएन। फोन अन गर्दै अफिस गएँ।’ अफिस पुग्दा नपुग्दै खाताबाट ५० हजार रुपैयाँ निकालेको म्यासेज आयो । पैसा काटेको म्यासेज आएपछि उनी छाँगाबाट खसेजस्तै भए।
खाताबाट पैसा निकालेको सन्देश आउनासाथ विराटनगरस्थित खाता भएको बैंकको शाखामा उनी पुगे। जमालीका अनुसार बैंकमा खाता चेक गर्न लगाउँदा फेरी ९७ हजार ५ सय १० रुपैयाँ प्रभु बैंकको कुनै व्यक्तिको नाममा जम्मा भएको देखियो।
उनको रकम ह्याकरले दुई किस्तामा निकालेको देखिन्छ। पहिलो किस्तामा ५० हजार, दोश्रो किस्तामा ९७ हजार ५ सय १०। खाताबाटै पैसा हराएको विषयमा बैंकमा जानकारी गराउँदा समेत एनआइसी बैंक विराटनगर शाखाका कर्मचारीले वास्तै नगरेको उनले बताए। समस्या शाखा प्रमुखलाई सुनाउन खोज्दा पनि भेट्नै दिएनन्। उनले भने, ‘बैंकका कर्मचारीले प्रहरीमा जान सुझाए।’ पटक–पटक प्रहरीमा गएर अनुरोध गर्दासमेत प्रहरीले बेवास्ता गरेको अनुभव उनले सुनाए।
‘काम गर्दैछौं ? विस्तारै हुन्छ’ भन्ने प्रहरीको जफावले आफु बिचल्लीमा परेको बताए। उनको खाताबाट कुनै व्यक्तिको नाममा रकम झिकिएको स्टेटमेन्टमा देखिएको छ। रकम झिकिएको सवै विवरणसहित प्रहरीमा जाँदा पनि न्याय नपाएको उनले बताए। ‘पहिलोपटक प्रहरीमा जाँदा प्रमाण के छ भनिएको थियो। प्रमाणसहित जाँदा पनि प्रहरीले निरास बनाएर पठायो।’ जमालीले भने।
प्रहरी प्रशासन र बैंकबाट तत्काल समस्या समाधान नहुने देखेपछि उनले काठमाडौंमा रहेका दाजु अबिद कामिल जमालीमार्फत् काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पुगेर निवेदन दिएका छन्। निवेदन दिएको केही समयपछि ५० हजार रुपैयाँ फेरी जमालीको खातामा फिर्ता आएको उनले बताए ।