कारागारलाई नै अपराधको अखडा बनाएपछि गिरीको सरुवा
विराटनगर : कारागार भित्रै अपराधको अखडा बनाएर बारम्बार विवादमा आइरहने अभिषेक गिरीलाई मोरङबाट मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने भएको छ। मोरङ कारागारमा आतंक मच्चाइरहेको पाइएपछि कारागार व्यवस्थापन विभागले उनको सरुवा गरेको हो।
अपराधिक पृष्ठभूमिका ‘गुण्डानाइके’ गिरी विराटनगरको हाटखोलास्थित मोरङ कारागारका चौकीदार हुन्। अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई सरुवा गरेर मोरङबाट भीमफेदी कारागार लैजानका लागि आइतबार पत्र प्राप्त भएको कारागार स्रोतले जनाएको छ। स्रोतका अनुसार गृहमन्त्री रवि लामिछानेको निर्देशनमा कारागार व्यवस्थापन विभागले गिरीलाई ‘जतिसक्दो चाँडो’ स्थानान्तरण गर्नु भनेर मोरङ कारागारलाई पत्र पठाएको हो। उनको सरुवाको निर्णय भने केही दिनअघि भएको बताइएको छ।
विभागका महानिर्देशक चक्रपाणी पाण्डेले गिरीलाई भीमफेदी स्थानान्तरण गर्न पत्राचार भइसकेको पुष्टि गरे। उनका अनुसार अब मोरङका प्रमुख जिल्ला अधिकारी र जेलरले समन्वय गर्दै गिरीलाई स्थानान्तरणका लागि वातावरण तयार पार्नुपर्ने छ। मोरङका प्रजिअ काशीराज दाहालले गिरीको स्थानान्तरणको तयारी गर्न कारागारलाई निर्देशनसमेत दिएका छन्।
मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार सार्वजनिक विदा सकिएपछि स्थानान्तरणको प्रक्रिया अघि बढ्छ। चौतर्फी विरोध हुँदाहुँदै नेपाली कांग्रेसका नेताको दबाब र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा गिरीलाई २०७८ मंसिर ९ गते मोरङ कारागार ल्याइएको थियो। रातारात मोरङ ल्याएर दोस्रोपटक चौकीदारको जिम्मेवारी दिएपछि गिरीले आतंक सिर्जना गर्दै कारागारभित्र अपराधको भिन्दै साम्राज्य खडा गरेको कारागार स्रोतको भनाइ छ।
गिरीलाई प्रवेश गराउनुअघि मोरङ कारागारको अवस्था तनावपूर्ण बनेको थियो। कैदीबन्दी गिरीको विरोधमा उत्रिएका थिए। तर, सरकारकै सहयोगमा कारागार छिरेर आतंक मच्चाउन थालेसँगै गिरीविरुद्ध बोल्ने र उनको विरोध गर्ने आँट कसैले गर्न सकेनन्। त्यतिबेला उनलाई मोरङ ल्याउनकै लागि चौकीदार कात्तिक कामत र सिटी नाइके युवराज परियारसहितका कैदीलाई सिन्धुली कारागार सरुवा गरिएको थियो।
त्यसअघि २०७८ असोज १८ गते गिरीको सहजताका लागि चौकीदार नवीन राईलाई झुम्का कारागार स्थानान्तरण गरेर किरण गुरुङलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिइएको थियो। गिरीकै योजना र इशारामा कात्तिक २४ गते मोरङ कारागारमा झडप हुँदा गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए। घटनापछि उनको विपक्षमा रहेका गुरुङसहितका १४ जना कैदीबन्दीलाई झुम्का, झापा र इलाम कारागारमा स्थानान्तरण गरेर कात्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइएको थियो।
‘हामीसँग साप्ताहिक र मासिक रूपमा ठूलो रकम माग गरिन्छ। पैसा दिन नसक्दा कुटपिट गर्दै रातदिन यातना दिने काम हुन्छ,’ एक कैदीले भने, ‘बोराभित्र हालेर कुटपिट गर्दै दिइने यातनाका कारण परिवारका सदस्यसँग पैसा मागेर बुझाउनुपर्ने हाम्रो बाध्यता छ। १ जनासँग मासिक ४ लाख रूपैयाँसम्म असुल्ने काम हुन्छ।’ कैदीबन्दीसँग असुल्न र उनीहरूलाई यातना दिन कारागारभित्र गिरीको ठूलो समूह परिचालित रहेको उनले बताए।