संघर्षले खारिएका अमनलाल : संसदको तेस्रो यात्रामा बने मन्त्री
विराटनगर : पारिवारिक अभाव र संकटसँग जुध्दाजुध्दै राजनीतिक यात्रा सुरु गरेर संघर्षले खारिएको नाम हो, अमनलाल मोदी।
नेकपा (माओवादी केन्द्र)मा आवद्ध भई आफ्नो राजनीतिक जीवनलाई अगाडि बढाएर संघर्ष गरिरहेका उनै ३७ बर्से अमनलाल तेस्रोपटकको संसद यात्रामा मन्त्री बन्न सफल भएका छन्। माओवादीका सांसद (प्रतिनिधिसभा सदस्य) उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा मन्त्री बन्ने अवसर पाए।
थारु समुदायका अमनलालले मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
एकपटक समानुपातिक सांसद बनेका उनीसँग दुईपटक प्रत्यक्ष निर्वाचन जितेको अनुभव छ। संसदको तेस्रो यात्रामा भने मन्त्री बन्न उनी सफल भएका छन्।
अमनलाल मोरङको बूढीगंगा गाउँपालिका–६ का बासिन्दा हुन्। तेस्रोपटक सांसद बनिसकेका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनयता लगातार संसदमा प्रतिनिधित्व गरिरहेका छन्। दोस्रो संविधानसभाबाट समानुपातिक सांसद भएका थिए।
२८ वर्षको उमेरमा संविधानसभा सदस्य बनेका उनी हाल माओवादीका कान्छा सांसद पनि हुन्।
मुलुक संघीय संरचनामा गइसकेपछि २०७४ सालमा भएको निर्वाचनमा अमनलाल मोरङको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
नेकपा (एमाले) र माओवादी मिलेर बनेको तत्कालीन वाम गठबन्धनका उम्मेदवार मोदीले नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री महेश आचार्यलाई पराजित गरेका हुन्।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उनी निर्वाचित भए। कांग्रेस नेतृत्वको तत्कालीन सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेर एमालेमा विनोद ढकाललाई ६ हजार १४९ मतान्तरले हराए।
अमनलाल ३० हजार ६१२ मत ल्याएर तेस्रोपटक सांसद हुँदा विनोद २४ हजार ४६३ मतमा सीमित भएका थिए।
स्वः पवनलाल र बालोदेवी मोदीका छोरा उनी थारु बाहुल्य क्षेत्रबाट लगातार चुनाव जित्दै अहिले एमाले सम्मिलित सरकारको मन्त्री भएका छन्।
परिवारका ७ सन्तानमध्ये अमनलाल कान्छा हुन्। पारिवारिक आर्थिक अवस्था कमजोर रहेका उनले बिहान बेलुका फ्याक्ट्रीमा काम गरेर एसएलसीसम्मको पढाई पूरा गरेका थिए।
उनी ७ वर्षको हुँदा बुवा पवनलालको मृत्यु भयो। पारिवारिक विपन्नतामाथि घरको मूल अभिभावक गुमाउँदा उनलाई पठनपाठन अगाडि बढाउन समस्या पर्यो।
परिवारमा बिहानबेलुकाको छाक टार्नै धौधौ हुँदा फ्याक्ट्रीमा काम गर्दै पढाइ अगाडि बढाउनुपर्ने बाध्यता आइलाग्यो।
सन्तान हुर्काउन आमा बालोदेवीले मजदुरी गरिन्। हाटबजारमा आलुचप र भुजा बेचिन्। बुढेशकालले थलिँदै गएर शारीरिक अवस्था कमजोर बनेपछि १ वर्षअघिबाट उनले आलुचप र भुजाको व्यापार छाडेकी छन्।
क्याम्पसको पढाई सुरु गरेपछि पैसा अभाव भएसँगै खर्च जुटाउन आफूले होटलमा ‘वेटर’ र ‘क्लिनर’को कामसमेत गरेको अमनलाल बताउँछन्। कक्षा ९ मा पढ्दादेखि नै माओवादीमा जोडिएका उनी २०५६ सालबाट अखिल क्रान्तिकारीमा आवद्ध भएका थिए।
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा आईए पढ्न सुरु गरेपछि राजनीतिक सक्रियता बढाए। अखिल क्रान्तिकारीमा आवद्ध भई माओवादीको राजनीति गर्दागर्दै २०६० सालमा पक्राउ परेर २ वर्ष ३ महिना जेलमा बिताए।
हिरासत र कारागारमा रहँदा चरम शारीरिक तथा मानसिक यातना खेप्न बाध्य भएको उनी बताउँछन्।
कारागारमुक्त भएपछि उनले माओवादीमै रहेर पुनः राजनीति गरे। मोरङलाई कर्मथलो बनाएर अमनलालले राजनीतिक जीवनलाई अगाडि बढाइरहेका छन्।
विद्यार्थी राजनीतिमा अखिल क्रान्तिकारीको मोरङ सदस्य हुँदै जिल्ला अध्यक्ष भएका थिए।
पार्टीमा तत्कालीन माओवादीको जिल्ला कमिटी सदस्य हुँदै राज्य कमिटी सदस्य बनेका अमनलाल एमाले र माओवादीबीच पार्टी एकता भएर बनेको नेकपाको प्रदेश १ कमिटीका सदस्य थिए। माओवादीको आठौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेका हुन्।