विमानस्थल स्तरोन्नति भयो, ५ महिनादेखि उडान ठप्प

विमानस्थल स्तरोन्नति भयो, ५ महिनादेखि उडान ठप्प

डोटी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामध्ये सबैभन्दा पुरानो दीपायल विमानस्थल स्तरोन्नति भई धावनमार्ग कालोपत्र भएको दुई वर्ष बितिसक्दा पनि विमानको नियमित रूपमा उडान भएको छैन। पाँच महिनादेखि त उडान नै ठप्प छ। 

दीपायल विमानस्थलको स्तरोन्नति गर्ने कार्यका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनबीच २०७३ सालमा ४ सय ९० मिटर लम्बाइको धावनमार्ग निर्माण र कालोपत्रसहितका लागि ६ करोड ८० लाखमा ठेक्का सम्झौता भएको थियो। २०७६ साल असार मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि एक वर्ष म्याद थप भई २०७७ सालमा काम सम्पन्न भयो। 

स्तरोन्नतिको सम्पन्न भएपछि १७ असोज २०७७ मा समिट एयरलाइन्सले उडान परीक्षण गरेको थियो। परीक्षण उडानपछि केही समय समिट एयरले नियमित उडान भर्यो। समिट एयरले निरन्तरता दिन नसकेपछि नेपाल एयरलाइन्सले जहाज उडान सुरु गर्‍यो। सुरुमा सातामा दुई पटक उडान गर्ने निर्णय गरेको एयरलाइन्सले कहिले कोभिड, कहिले यात्रु छैन भन्दै आलटाल गर्दै आफू अनुकूल महिनामा २ पटक १ पटक जहाज उडाउँदै थियो तर पछिल्लो समयमा पाँच महिनायता उडान पूर्णरूपमा बन्द भएको छ। 

पाँच महिनादेखि विमान ठप्प

दीपायल विमानस्थलमा अहिले जहाज नआएको पाँच महिना भएको छ। धनगढीदेखि दीपायलको अन्तिम उडान ६ भदौ २०७९ मा भएको थियो। त्यसपछि अहिलेसम्म उडान पूर्णरूपमा बन्द भएको डोटी नागरिक उड्डयन कार्यालय दीपायलले जानकारी दिएको छ। 

विमानस्थलको स्तरोन्नति भएको केही समयसम्म साता र महिनामा कहिलेकाहीँ जहाज आउँथ्यो अहिले त त्यो पति पूर्णरूपमा बन्द भएको स्थानीय कर्ण रावलले बताए। उनले भने, ‘दीपायल विमानस्थल सञ्चालन भइसकेपछि बीचमा लामो समयसम्म बन्द हुँदा गौचरणमा परिणत भएको थियो त्यसपछि बीचमा स्तरोन्नति हुँदा अब नियमित सञ्चालन हुन्छ भन्ने लागेको थियो अझ बन्द भइसक्यो। फेरि यस्तै अवस्था हो भने पुनः गौचरणमा परिणत नहोला भन्न सकिँदैन।’

नेपाल एयरलाइन्सले विमान अभावका कारण डोटी उडान भर्न नसकेको नेपाल वायु सेवा निगम धनगढीका स्टेसन इन्चार्ज विमलविक्रम शाहीले बताए। उनले भने, ‘केन्द्रले विमान पठाउँदैन। विमान २ वटा मात्र छ कहिलेकाहीँ बिग्रिन्छ। नेपालगन्जसम्म मात्र जान्छ। यता सुदूरपश्चिम पठाउँदैन।’ स्टेसन इन्चार्ज शाहीलाई समेत अब सुदूरपश्चिममा नेपाल एयरलाइन्सको विमान आउँछ वा आउँदैन भनेर कुनै जानकारी छैन। १८ सिट भएको नेपाल एयरलाइन्सको विमानले साताको दुई दिन धनगढीबाट डोटी, अछाम, बाजुरा र बझाङमा उडान भर्दै आएको थियो।

बन्द विमानस्थलमा नयाँ संरचना बन्दै 

दीपायल विमानस्थलमा लामो समयदेखि जहाज नआए पनि नयाँ भौतिक संरचना निर्माण कार्यले निरन्तरता पाएको छ। विमानस्थल आयोजनाअन्तर्गत विमानस्थलको टर्मिनल भवन र टावर निर्माण कार्य सुरु भएको डोटी नागरिक उड्डयन कार्यालय दीपायलका पूर्वप्रमुख विजय पटेलले बताए। टर्मिनल भवन र टावर निर्माण गर्न ५ करोड ९ लाखको लागतमा २०७९ असारबाट कार्य प्रारम्भ भई २०८० मंसिरसम्ममा सम्पन्न गर्ने गरी टीडीआर कस्टक्सन निर्माण कम्पनी धनगढीसँग सम्झौता भई निर्माण कार्य जारी छ। पटेलको गत वर्षको ४ पुसमा अछाममा सरुवा भएपछि विगत एक वर्षदेखि डोटी नागरिक उड्डयन कार्यालय कार्यालय प्रमुखविहीन बनेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.