बर्दिवास अस्पतालमा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति
बर्दिवास: बर्दिवास अस्पतालमा अत्याधुनिक उपकरण र जनशक्ति व्यवस्थापन भएको छ। यो व्यवस्थापनले बिरामीलाई उपचार गर्न बाहिर पठाउने (रेफर)को काम अत्य भएको अस्पतालले घोषणा गरेको छ।
नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले अब अस्पतालमा विस्तारित सेवा संचालनमा आएको घोषणा गरे। सामाजिक सुरक्षातर्फ जेष्ठ नागरिक, महिला तथा बालबालिकाको उपचारमा विशेषज्ञसहित आधुनिक उपकरणबाट सेवा प्रदान गरिने नगरप्रमुख क्षेत्रीले बताए।
बर्दिवास अस्पतालका व्यवस्थापन समितीका अध्यक्ष जयराम शर्माले केन्द्र सरकार, प्रदेश सरकार तथा नगरपालिकाको सहयोगमा बर्दिवासमा आधुनिक उपकरण सहित विशेषज्ञ सेवा दिन लागिएको जानकारी दिए। अहिले अस्पतालमा सेवा सुविधामा विस्तार भएको अध्यक्ष शर्माको भनाइ छ।
अब यहाँ उपचारको लागि आउनेलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको अस्पतालकी मेडिकल सुपरिडेण्ट कृष्णा महर्जनले बताईन् । महर्जनले अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, जनरल फिजिसियन पोस्टमार्टम सेवा साथै सर्जरी सेवाको विस्तार भएको जानकारी दिईन्।
५० शैय्या क्षमता भएको सो अस्पतालमा हाल ८३ जनाभन्दा बढी चिकित्सक, परिचारिका र कर्मचारी कार्यरत छन्। अघिल्लो स्थानीय सरकारले अस्पतालको भौतिक संरचनादेखि चिकित्सक व्यवस्थापनमा गरेको नेतृत्व र नयाँ स्थानीय सरकारले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य उपचारमा खेलेको भूमिकाको संयोजनले नै अस्पतालले उचाइ लिएको स्थानीयहरूको बुझाइ छ ।