धरानमा खुकुरी प्रहार गरी साथीको हत्या, एकजना गम्भीर घाइते
सुनसरी : सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गम्भीर घाइते मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ । मृतक बुढाथोकीको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस