प्रधानमन्त्रीलाई कार्यक्रममा बोलाएर अस्पतालको ओपीडी सेवा ठप्प
काठमाडौं : भक्तपुरस्थित सहीद धर्मभक्त मानव अगं प्रत्यारोपण केन्द्रले ओपीडी सेवा नै ठप्प पारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेको छ।
अस्पतालले ओपीडी सेवा नै बन्द गरेर केन्द्र स्थापनाको १० वर्षमा १ हजार जनाको मिर्गौला प्रत्यारोपण गरेको खुसीयालीमा शुक्रबार कार्यक्रम गरेको हो। अस्पतालले सार्वजनिक सूचना जारी गरेरै ओपीडी सेवा बन्द गरेको हो। अस्पतालजस्तो अतिआवश्यक क्षेत्रमा सेवा नै बन्द गर्नु चरम लापरबाही भएको सरोकारवाला पक्षहरूले बताएको छ।
'अस्पतालले सूचना नै जारी गरेर माघ ६ गते ओपीडी सेवा बन्द रहने जानकारी दिएको छ। तर के कारण बन्द रहने खुलाएको छैन। अस्पतालजस्तो ठाउँमा यसरी सेवा बन्द गर्नु चरम लापरबाही हो,' अस्पतालका एक चिकित्सकले भने। ओपीडी ठप्प हुँदा सेवा लिन आएका बिरामीहरू उपचार नै नपाइ घर फर्किएको ती चिकित्सकको भनाइ छ।
अस्पताल प्रशासनका अनुसार अहिले दैनिक दुई सयदेखि तीन सय बिरामीहरू सेवाका लागि आउने गर्छन्। 'दैनिक सयौं बिरामीहरू आउने अस्पताललाई यसरी बन्द गरेर अरु कार्यक्रम गर्ने शैली राम्रो भएन। यो कार्यक्रम अरु बेला पनि गर्न सकिन्थ्यो। यो कुरामा अस्पताल जवाफदेही हुनुपर्छ,' सेवा लिन आएका एक जनाले भने।
केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा प्रज्ञा प्रतिष्ठानमा प्रत्यारोपितको भेला गरेको थियो। सो अवसरमा प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलगायतलाई बोलाइएको थियो।
अतिथिहरूमा बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिवद्धय डा. रोशन पोखरेल, देवकुमारी गुरागाईं थिए। कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्डलगायतका अधिकारीहरू सेवाप्रवाह बन्दबारे अनभिज्ञ रहेको एक अधिकारीले बताए। एक हप्ताअघि केन्द्रले एक हजार जनाको मृगौला प्रत्यारोपण भएको खुसीयालीमा कार्यक्रम गरेको थियो।
केन्द्रमा मुटु र कलेजोका बिरामीहरू १२ बजेपछि आए कुनै पनि बिरामीले टिकट पाउँदैनन्। नेपालमा कुनै न कुनै मृगौला समस्या रहेकाको संख्या करिब ३० लाखको हाराहारीमा छ। वार्षिक करिब तीन हजार मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था पुग्ने गरेको तथ्यांक रहेको छ।
यसअघि त्रिवि शिक्षण अस्पतालको वार्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रूपमा सहभागी हुँदा सेवाप्रवाह ठप्प भएको थियो। सेवा ठप्प हुँदा अस्पतालको चर्को विरोध भएको थियो।