मावि चलाउन जनस्तरबाट सहयोग अभियान
प्यूठान : प्यूठानको झिमरुक गाउँपालिका–५ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय हिरापोखरीमा माध्यमिक तह सञ्चालन गर्न अभिभावक कस्सिएका छन्।
२०३२ सालमा स्थापना भएको विद्यालयमा ८ कक्षासम्मको मात्र पढाइ हुन्छ। गाउँमै मावि तहसम्मको पढाइ नहुँदा विद्यार्थीलाई समस्या भएको भन्दै आगामी शैक्षिक सत्रदेखि मावि तह (कक्षा ९–१०) सञ्चालन गर्ने लक्ष्यका साथ सहयोग संकलन अभिभावकले सार्वजनिक अपिल गरेका छन्। कक्षा ८ देखि माथिल्लो तहको पढाइका लागि विद्यार्थीहरू बालशिक्षा माध्यमिक विद्यालय मच्छी र बलभद्र मावि बादीकोट पुग्नुपर्ने बाध्यता छ। कम्तीमा दुई घण्टा पैदल हिँडेर विद्यार्थीहरू मच्छी जाने र बसमा चढेर
आउँदा-जाँदा दुई सय रूपैयाँ भाडा दैनिक रूपमा लाग्ने गरेको विद्यार्थीहरू गुनासो गर्छन्।
‘हाम्रा छोराछोरीले टाढा पढ्न जाँदा दुःख पाए। यही मावि चलाउँ भनेर अभिभावकहरूले माग राख्नुभयो’, प्रधानाध्यापक यशोदा खड्काले भनिन्, ‘अभिभावकहरूको माग र साथले नै हामी कक्षा बढाउने तयारी थालेका छौं। सबैको सहयोग चाहिएको छ।’
मावि सञ्चालनका लागि पूर्वाधार निर्माण र शिक्षक व्यवस्थापनका लागि कम्तीमा ५० लाख रुपैयाँ बजेट आवश्यक पर्नेे प्रअ खड्काले बताइन्। १० कक्षासम्मको पढाइ सञ्चालन गर्न कार्यालय, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा, बालविकाससहित गरी कम्तीमा १५ वटा कोठा आवश्यक पर्छ। हाल विद्यालयमा ६ वटा कक्षा कोठा चालू अवस्थामा छन्। पाँचकोठे नयाँ भवन निर्माणाधीन छ। नयाँ भवन पूरा भइसकेपछि पनि चार वटा कोठा अपुग हुने खड्काले जानकारी गराइन्।
ओखरकोट क्षेत्रमा रहेका बस्ती सिस्नेखोला, बादीखोला, आप्रेखोला, खोरपानी, रातामाटा, ठुलापोखरा, सोरपोखरा, टापुटोललगायका बालवालिका यहाँ पढ्न आउने गर्दछन्। विद्यालयमा छात्र १ सय ४२ र छात्रा १ सय १६ गरी कुल २ सय ५८ जना विद्यार्थी अध्ययनरत छन्। बालविकाससहित १० जना शिक्षकहरू कार्यरत छन्। कक्षा ८ मा ३० जना विद्यार्थी छन्।
‘पूर्वविद्यार्थी, शिक्षक र सहयोगी मनहरूलाई सार्वजनिक रूपमा सहयोगको आह्वान गरेका छौं’, मावि सञ्चालनका लागि समुदायस्तरबाट सहयोग संकलन अभियानको आर्थिक तथा अक्षयकोष व्यवस्थापन समितिका संयोजक प्रदीप जीसीले भने, ‘सबैतिरबाट सहयोगको आश्वासन पाएका छौं। नयाँ शैक्षिक शत्रमा जसरी पनि मावि चलाउँछौं।’