मोरङमा टिपरको ठक्करबाट नाबालिकाको मृत्यु, शव बुझ्न अस्वीकार
विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा तीव्र गतिमा रहेको टिपरको ठक्करबाट मंगलबार दिउँसो डेढ वर्षीया नाबालिकाको मृत्यु भएको छ।
भित्री सडकखण्ड भएर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ६८२५ नम्बरको टिपरले सडकमा खेलिरहेकी नाबालिकालाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार टिपरले दिउँसो ४ बजेतिर ठक्कर दिँदा सुन्दरहरैँचा–१२ का अजित चौधरीकी १८ महिने छोरी अननिया चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको केराबारी गाउँपालिका–१० का अन्दाजी ३५ वर्षीय राजकुमार लिम्बूलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानबाट चालकको लापरबाहीले दुर्घटना भएको खुलेको छ।
स्थानीय बासिन्दाका अनुसार तीव्र गतिमा रहेको टिपरले सडकमा खेलिरहेकी नाबालिकालाई ठक्कर दिएको हो। चालकको लापरबाहीले दुर्घटना भएको बताउँदै स्थानीय, आफन्त र अभिभावकको मृतक बालिकाको शव उठाउन मानिरहेका छैनन्। सडकको बीचमा शव राखिएको छ।
दुर्घटना गराउने चालकलाई घटनास्थलमै उपस्थित गराउनुपर्ने र कडा कारबाही हुनुपर्ने माग राख्दै शव उठाउन अस्वीकार गरिएको हो। घटनास्थलमा जम्मा भएको भीड र सडकको बीचमा राखिएको शवका कारण उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन हुन सकिरहेका छैनन्।
माहोल भड्किन नदिनलाई घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलासहित स्थानीय जनप्रतिनिधिको टोलीले आक्रोसित भीडलाई सम्झाईबुझाई गरिरहेको छ।
वडाध्यक्ष रोशन ढकालले टिपरको तीव्र गतिका कारण दुर्घटना भएको बताए। उनका अनुसार आफन्त र परिवारका सदस्यसहितको आक्रोसित भीडले सडकबाट शव उठाउन दिएको छैन।
शव सडकमै छाडेर उनीहरूले टिपर आतंक बन्द, चालकलाई घटनास्थलमा ल्याउनुपर्ने, कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिरहेको ढकालले बताए।
‘आक्रोसित भीडलाई सम्झाईबुझाई गर्ने काम भइरहेको छ। घटनास्थलबाट शव उठाउन दिन सबैमा अनुरोध गरिएको छ,’ उनले भने, ‘दुर्घटना गराउने पक्षलाई कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ। समस्या समाधानका लागि मृतक पक्षसँग छलफल र वार्ता भइरहेको छ।’ मृतक पक्षसँग सहमति गरेर समस्या समाधानको प्रयास भइरहेको वडाध्यक्ष ढकालले बताए।