दुर्घटनामा प्रदेश १ संसद सचिवालयका अधिकृतको मृत्यु
विराटनगर : कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ स्थित ढाटमा बुधबार दुर्घटना हुँदा प्रदेश १ को प्रदेशसभा (संसद)सचिवालयका अधिकृतको मृत्यु भएको छ ।
दुर्घटनामा संसद सचिवालयका अधिकृत सुनसरीको धरान उपमहानगरपालिका–८ घर भएका अन्दाजी ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सरकारी मोटरसाइकल चलाएर धरानबाट विराटनगरस्थित संसद सचिवालयतर्फ आउने क्रममा श्रेष्ठ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
उनका अनुसार दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते भएका छन् । उनीहरुको विराटमै उपचार भइरहेको छ ।
मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।