लागूऔषध तस्करीको ‘ट्रान्जिट’ बन्दै मधेस

लागूऔषध तस्करीको ‘ट्रान्जिट’ बन्दै मधेस

जनकपुरधाम : लागूऔषध गाँजा, अफिम, चरेस, अवैध मदिरासहितका सामग्रीहरूको तस्करी मधेस प्रदेशमा निकै बढेको छ। खुला सिमानाको फाइदा उठाउँदै तस्करहरूले लागूऔषध ओसारपसार गर्ने क्रम बढेपछि प्रहरीका लागि पनि टाउको दुखाइ भएको छ। 

गत मंगलबार रौतहटको राजदेवी नगरपालिका—९ ब्रह्मपुरीमा सशस्त्र प्रहरी टोलीले अवैध रूपमा नेपालबाट भारततर्फ भारतीय गाडीमा राखी लाँदै गरेको १ सय १८ कार्टुन सोफी मदिरा नियन्त्रणमा लिएको थियो। गाडी र मदिराको मूल्य गरी करिब ६ लाख २० हजारको अवैध सरसामान प्रहरीले नियन्त्रणमा लिए पनि तस्करीमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न असफल भएको थियो। 

गत पुस १४ गते सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्यो। सुराकीको आधारमा प्रहरीले ३० बोरा गाँजा फेला पारेको थियो। कोसी नदीको बगरमा तीन ठाउँमा बालुवामुनि गाडेर राखेको अवस्थामा फेला परेको गाँजाको तौल ८ सय १० किलो रहेको थियो। मंसिर १७ गते रौतहट प्रहरीले गौर नगरपालिका–३ मा रहेको फलक पोल्ट्री फार्मबाट १ सय ८० किलो गाँजा बरामद गर्यो। फार्मभित्रै खाल्डो खनि लुकाएर राखिएको गाँजासँगै भारततर्फ लैजाँदै गरेको गाँजासहितको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। 

पुस ९ गते बाराको जितपुरसिमरा—७ जितपुरस्थित आदित्य होटलको कोठाबाट सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर उनीहरूको साथबाट २ किलो युरेनियम नियन्त्रणमा लिएको थियो। नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा २९ वर्षीय रवि चौधरी, ३० वर्षीय सागर चौधरी र २२ वर्षीय बृज सहनीलाई नियन्त्रणमा लिएर युरेनियम बरामद गरेको थियो। 

सशस्त्र प्रहरी बल मधेस प्रदेशको तथ्यांकअनुसार २०७८ असोज १४ गतेदेखि २०७९ माघ ९ गतेसम्ममा प्रहरीले ४ हजार ३८७ किलो गाँजा बरामद गरेको छ भने १०२ बिघा ५ कट्ठामा लगाइएको गाँजा फडानी गरेको छ। त्यसैगरी, विभिन्न लागूऔषधहरू (कोरेक्स, नाइट्राभेट, फेनार्गन, डाइजापाम, नर्फिम) ६६ हजार १४३ पिस फेला पारेको छ। चरेस, ४२ किलो, ब्राउन सुगर, १२९ किलो, खैरो हिरोइन ११ ग्राम र युरेनियम २.५२० किलो बरामद गरेको प्रहरीले जनाएको छ। 

लागूऔषधसहित पक्राउ पर्नेको संख्या २१९ जना छ। भारतको बिहार राज्यमा मदिरा बिक्रीमा रोक लगाइएपछि अवैध मदिराको ओसारपोसार नेपालतर्फबाट बढेको र नेपालमा लागूऔषध खरिद बिक्रीमा कडाइ भएकै कारण भारतीय बजारबाट लागूऔषध नेपाल भित्रिने गरेको छ। यस्ता अवैध सरसामानहरूको ओसारपसार रोक्न प्रहरी विशेष रूपमा सतर्क रहेको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी, मधेसका प्रमुख गणेश ठाडा मगर बताए। ‘हामीले लागूऔषध ओसारपसारलाई विशेष निगरानीमा राखेर कामहरू अघि बढाएका छौं। यसैक्रममा यस्ता व्यवसाय गर्ने व्यापारीहरूको नजिक रहेका व्यक्तिहरूलाई सम्पर्कमा लिएर अलि बढी सम्भावित क्षेत्रहरूमा निगरानी गरेपछि बारा, पर्सा, महोत्तरी, सर्लाही र सप्तरी जिल्लाबाट निकै धेरै मात्रामा लागूऔषध बरामद गर्न सकेका छौं’, मगरले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.