चोरीका सामानसहित दुई जना पक्राउ
ढल्केवर(धनुषा) : धनुषामा चोरीका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छ। पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-१ बस्ने २१ वर्षीय शिवशंकर मण्डल र सोही ठाउँका अमितकुमार साह रहेको प्रहरीले जनाएको छ।
बुधबार बिहान औरही गाउँपालिका-१ स्थित रहेको रामजानकी माध्यमिक विद्यालयको कार्यालय कोठाबाट कम्प्युटर लगायतका सामानहरू र स्थानीय लक्ष्मेश्वर यादवको खेतमा जडान गरिएको सोलार प्लेट समेत चोरी भएको सूचना प्राप्त हुनसाथ तत्कालै खटिएको प्रहरी टोलीले शंकाका आधारमा शिवशंकरलाई नियन्त्रणमा लिएको थियो।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा चोरीका सामानहरू औरही गाउँपालिका-१ स्थित पौडेश्वर चोकमा अमित कुमार साहले सञ्चालन गरेको डेरी उद्योग भित्र खानतलासी गर्दा डेल कम्पनीको मोनिटर १ थान, नोकिया लेखिएको वाईफाईको राउटर १ थान, कम्पयुटर किबोर्ड १ थान, सोमिटर १ थान बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोही नजिक सडक छेउमा खाल्डो भित्र लुकाइछिपाई राखेको खेतमा जडान गरिएको सोलार प्लेट एक थान समेत बरामद भएको हो। पक्राउ परेका दुवैलाई चोरी मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।