डीआईजी ज्ञवालीले गरे तालिम केन्द्रको निरीक्षण

डीआईजी ज्ञवालीले गरे तालिम केन्द्रको निरीक्षण

विराटनगर : प्रदेश १ का प्रहरी प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले आइतबार विराटनगरस्थित प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण गरेका छन्। 

प्रदेशको प्रहरी प्रमुख बनेर आएपछि ज्ञवालीले प्रहरी कर्मचारी उत्पादनस्थलका रूपमा रहेको तालिम केन्द्रको पहिलोपटक स्थलगत निरीक्षण गरेका हुन्। त्यस क्रममा उनले केन्द्रका सम्पूर्ण शाखा, मेश तथा ब्यारेकहरुको निरीक्षण गर्दै प्रहरी कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिएका छन्। 

उनले प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिका लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रको भूमिका अहम हुने बताए। 

प्रहरी संगठनको सक्षम तथा प्रभावकारी उपस्थितिलाई कायम राख्न तालिम केन्द्रको प्रशिक्षण पद्धतिमा समयानुकूल परिवर्तन हुन जरुरी रहेको ज्ञवालीको भनाइ छ। साथै योग्य र दक्ष जनशक्ति छनोट गरेर उचित प्रशिक्षण प्रदान गर्न सक्दा मात्रै कार्यक्षेत्रमा प्रहरी कर्मचारीले संगठनको अपेक्षा अनुरूप प्रतिफल दिन सक्ने उनले बताए। 

अनुशासन प्रहरी संगठनको गहना भएको बताउँदै डीआईजी ज्ञवालीले तालिम केन्द्रमा प्रशिक्षकको अनुशासन र लगावको प्रत्यक्ष प्रभाव एवं तालिमको स्तरले नै कार्यक्षेत्रमा प्रहरीको कार्य सम्पादनस्तर निर्धारण गर्ने उल्लेख गरे। सामूहिक प्रयासले नै सफल प्रशिक्षक एवं प्रशिक्षार्थी हुन सबैलाई मद्धत पुग्ने उनको धारणा छ। 

विराटनगरको तालिम केन्द्रलाई देशकै नमुना तालिम केन्द्रका रूपमा स्थापित गर्ने गरी उच्च व्यावसायिकताका साथ काम गर्न ज्ञवालीको निर्देशन छ। 

ज्ञवालीले यसअघि मोरङ, सुनसरीलगायत विभिन्न जिल्ला प्रहरी तथा इलाका प्रहरी कार्यालयसहितका प्रहरी युनिटहरुको निरीक्षण गरिसकेका छन्। निरीक्षणका क्रममा उनले नागरिक-प्रहरी सम्बन्ध सुधारमा जोड दिँदै अपराध नियन्त्रण एवं अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। 

शून्य सहनशीलताको नीतिबमोजिम प्रहरी संगठनको मूल्य र मान्यतालाई आत्मसात गरेर अघि बढ्न ज्ञवालीको निर्देशन छ। 

सुरक्षा र अपराध नियन्त्रणका लागि रणनीतिक योजना बनाएर अघि बढ्नुपर्नेमा उनको जोड छ। सुरक्षासँग सम्बन्धित कार्ययोजना कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले लागूऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, टुंगो नलागेका पुराना मुद्दाको री-ओपनलगायत सबै खालका अपराध नियन्त्रणमा सक्रियता बढाउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। 

'प्रहरी संगठनप्रति बेलाबखत विभिन्न आक्षेप लाग्ने गरेका छन्। त्यस्ता आक्षेप लाग्ने खालका गतिविधि गर्नु हुँदैन,' निर्देशन दिँदै उनले भने, 'प्रहरी संगठनलाई तारिफयोग्य बनाउन शुद्धीकरण अभियान चलाउनुपर्ने अवस्था छ। आमनागरिकले भरोसा गर्न योग्य प्रहरी संगठन निर्माममा सबै लाग्नुपर्छ।' 

डीआईजी ज्ञवालीले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गर्दै आचरणविपरीतका गतिविधि गर्नेलाई कारबाही गरिने पनि बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.