राष्ट्रपति पदमा गैरएमालेको खोजी : शेरबहादुर कुँवर
पूर्वमन्त्री शेरबहादुर कुँवरले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एकै पार्टीको हुँदा विगतमा खाएको हन्डर बिर्सिन नसकिएको बताए ।
नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री शेरबहादुर कुँवरले भावि राष्ट्रपति राष्ट्रिय सहमतिबाटै टुंग्याउने कसरत जारी रहेको बताएका छन् ।
अन्नपूर्ण पोष्टको कार्यक्रम द न्युज मेकरमा भूपाल लुइटेलसँग कुराकानी गर्दै कुँवरले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एकै पार्टीको हुँदा विगतमा खाएको हन्डर विर्सिन नसकिएको बताए ।
'एउटै पार्टीको राष्ट्रपति र प्रधानमन्त्री हुँदा विगतमा भएको घटनाक्रमलाई समेत ख्यालमा गरेर राष्ट्रपति चुनिनेछ', कुँवरले भने,'एमाले अध्यक्ष ओलीले अहिले पनि संसद विघटनको बचाउ गर्न छाडेका छैनन् फेरि पनि त्यहि अवस्था नआओस् भनेर हामी सचेत छौँ । एमालेबाट राष्ट्रपति बन्न नदिन प्रयत्न रहनेछ ।'
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाहिर गएपछि कांग्रेस-एमाले र माओवादीले थालेको संयुक्त छलफलले मात्रै मुलुकले निकास नपाउने उनले जिकिर गरे । 'चार सिटको पार्टीले पनि महत्व पाएको छ । हामीसँग त १० सिट छ । यसर्थ त्यसको सामर्थ्य अनुसारको भूमिकामा हामी पनि रहन्छौँ । क्षणिक सत्ता लिप्साले मात्रै निकास दिँदैन । प्रचण्ड र देउवामा पनि पनि सत्ता लिप्साको समस्या छ', उनले भने ।
राष्ट्रपति चुनावसम्म गठबन्धननै अर्को बन्ने सम्भावना रहेकाले अहिलेको गठबन्धन सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिन नसक्ने उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस !
