राष्ट्रपति सम्झौता : के होला ?
कांग्रेस माओवादीलाई फकाएर पुरानो गठबन्धन पुन : व्युत्याउन चाहन्छ। कांग्रेस र माओवादी सम्बन्ध कतातिर जाने भन्ने विषयको निर्कोल राष्ट्रपति निर्वाचन गर्ने देखिन्छ।
काठमाडौं : बालकोटमा पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुने र राष्ट्रपति एमालेले लिने मुख्य सहमति भएको दुवै पार्टीका नेता स्वीकार गर्छन्। सभामुख आधा–आधा कार्यकाल लिने सहमति भएको थियो। जस अनुरूप एमालेबाट देवराज घिमिरे सभामुख भएका छन्। प्रधानमन्त्री र सभामुखमा सम्झौताअनुसार परिणाम पनि आइसकेका छन्। तर, अब राष्ट्रपतिका विषयमा भएको सम्झौता के हुन्छ भन्ने चर्चाको विषय बनेको छ।
एमाले नेता राष्ट्रपति एमालेबाटै हुने बताउँछन्। माओवादी नेता भने राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति हुने बताउन थालेका छन्। सुवासचन्द्र नेम्बाङ, विद्यादेवी भण्डारीजस्ता नेताको प्रस्ताव आए माओवादी सहमतिअनुसार जान सक्ने जनाइएको छ। ओलीका विश्वासपात्र प्रस्ताव गरे सोच्नुपर्ने अवस्था आउने माओवादी नेता बताउँछन्। उनीहरू पुस १० मा राष्ट्रपति एमालेलाई दिने सहमति भएको स्वीकार गर्छन्।
माओवादी सचिव दीनानाथ शर्मा सहमति बचाउनुपर्छ भन्ने पक्षमा माओवादी रहेको दाबी गर्छन्। ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो’, सचिव शर्मा भन्छन्।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली गठबन्धनमा भएको सहमति र समझदारीलाई इमान्दारीका साथ कार्यान्वयन गर्नुपर्ने बताउँछन्। सत्ताको खेल, दाउपेच, नयाँ प्रयोगमा लाग्न नहुने उनको भनाइ छ। ‘मुलुकलाई स्थिरता चाहिएको छ, आर्थिक संकट छ। जनतामा वितृष्णा छ। यो सम्बोधन गर्न बलियो राजनीतिक समीकरणको आवश्यकता पर्छ’, ज्ञवाली भन्छन्।
राष्ट्रपति एमालेले नै पाउने सहमति भएको उनको भनाइ छ। राष्ट्रपति निर्वाचनमा एमाले र कांग्रेसबीच एक हुने सम्भावना भएकाले माओवादीले खेल्नेतिर नलागी विगतबाट पाठ सिकेर सहमतिअनुसार अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनी बताउँछन्।
माओवादी सहमति बचाउनुपर्छ भन्ने पक्षमा छ। राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो
धारणा हो।
दिनानाथ शर्मा, सचिव, माओवादी
दाहाल किन ढल्किँदै छन् कांग्रेसतिर ?
प्रधानमन्त्री दाहाल विश्वासको मत पाएपछि कांग्रेसतिर ढल्किइरहेका छन्। कांग्रेसले विश्वासको मत दिएपछि ओलीले भनेका थिए, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन। मैले त्यति बेलै भनेको थिएँ मतदान मात्रै गरेको भए त ठीकै हो। ढोक्सा थापेको हो भने गल्ती हो। ढोक्सा बेलुका थापिन्छ, अँध्यारोमा माछा पार्न खोजिन्छ।’
ओलीले थप भनेका थिए, ‘बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फक्र्याे। सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचलो खडा गर्ने कांग्रेसको रणनीति देखिन्छ।’
यो प्रत्यन्त कांग्रेसले गरिरहेको देखिन्छ। उसले प्रदेशमा पनि माओवादीका मुख्यमन्त्री, सभामुखलाई मत दिएको छ। राष्ट्रियसभा उपाध्यक्षमा पनि माओवादी उम्मेदवार उर्मिला अर्याललाई निर्विरोध जिताएको छ। कांग्रेस माओवादीलाई फकाएर पुरानो गठबन्धन पुन : व्युत्याउन चाहन्छ। कांग्रेस र माओवादी सम्बन्ध कतातिर जाने भन्ने विषयको निर्कोल राष्ट्रपति निर्वाचन गर्ने देखिन्छ।