प्रचण्डबाट अब क्रान्ति पूरा हुँदैन, जनयुद्धको बलिदानी खेर जान दिन्नौँ (भिडियो वार्ता)
नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्यले 'अधुरो क्रान्ति'को रूपमा रहेको जनयुद्धको बाँकी कार्यभार पूरा गरेरै छाड्ने बताएका छन्।
काठमाडौं: नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य 'किरण' ले जनयुद्धका क्रममा भएको बलिदानी खेर जान नदिने उद्घोष गरेका छन् ।
अन्नपुर्ण पोष्टको कार्यक्रम 'द न्युज मेकर'मा भूपाल लुइटेलसँग कुराकानी गर्दै महासचिव वैद्यले 'अधुरो क्रान्ति'को रूपमा रहेको जनयुद्धको बाँकी कार्यभार पूरा गरेरै छाड्ने उद्घोष गरेका हुन्।
उनले भने, '१७ हजार मानिसको बलिदानी खेर जान दिन्नौँ । त्यसैमा टेकेर जनताको सत्ता ल्याउने दृढतामा हामी अडिग छौँ ।'
प्रचण्ड प्रतिक्रान्तीको नेतामा परिणत भएकाले अब उनीबाट क्रान्ति हुन नसक्ने उनले दाबी गरे । तथापि जनयुद्धको सम्झनामा दिइएको सार्वजनिक विदा भने सह्रानायोग्य रहेको उनले बताए ।
'जनयुद्धको गरिमा सार्वजनिक बिदाले मात्र जोगिदैन । शोषित जनताको जीवनस्तर परिवर्तनको काम हुने गरी योजना सरकारले ल्याउन सक्नुपर्छ । तर यो कर्म यही सरकारबाट पूरा हुने देखिँदैन', उनले भने ।
सरकार बनाउने र ढाल्ने खेलमै दलहरू लागेपछि जनतामा फेरि निराशा बढेको छ । अब सबै देशभक्तहरू एकीतृत भएपछि अहिलेको वेथितीको चक्र भत्काउन लाग्नुपर्छ । यसका लागि सुरक्षाकर्मीसहितको सहभागितामा अब क्रमभंगता हुने गरीको अर्को क्रान्ति जरूरी रहेको उनले औल्याए ।
प्रतिक्रिया दिनुहोस !
