देशमा रोजगारी सिर्जना गर्न सामाजिक उद्यमशिलता आवश्यक: मन्त्री राई
काठमाडौं: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले देशमा रोजगारी सिर्जना र समृद्धिका लागि सामाजिक उद्यमशिलता जरुरी रहेको बताएका छन्।
राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलनको उद्घाटन गर्दै मन्त्री राईले सामाजिक उद्यमशिलताका लागि ऐन र नीति नियम तय गर्न सरकारले प्रभावकारी भूमिका खेल्ने बताए।
सामाजिक उद्यमीहरुले उत्पादन गरेका सामाग्री नेपाल र अन्तराष्ट्रिय बजार सम्म पुर्याउन नेपाल सरकारले अथक प्रयास गरिरहेको र अब उद्यमी र अभियान्ताका माग पनि सम्बोधन गर्ने मन्त्री राईले बताए।
राष्ट्रिय सामाजिक उद्यमी मञ्चको आयोजनामा फागुन तीनदेखि तीन दिन 'राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन २०७९' सञ्चालन भएको छ। 'जनता, पृथ्वी र समृद्धिका लागि सामाजिक उद्यमशिलतामैत्री प्रणालीको स्थापना गरौं' भन्ने नाराका साथ गरिएको सम्मेलनमा विभिन्न राजनीतिक दलका नेताले सामाजिक उद्यमीले सामाजिक उद्यमशिलताको महत्वलाई उजागर गर्ने गरी कार्यक्रम ल्याइनुपर्ने बताए।
सामाजिक उद्यमी मञ्चका संयोजक अर्जुन भट्टराईले सामाजिक उद्यमशिलताको वर्तमान अवस्था, नीतिगत र कानुनी चूनौती बारे छलफल गरी नयाँ रणनीति तय गर्न सम्मेलनको आयोजना गरिएको बताए।
सम्मेलन अन्तर्गत फागुन ३ गते शैक्षिक क्षेत्र र सामाजिक उद्यमशिलताका विषयमा छलफल तथा अन्तर्क्रिया, विभिन्न क्याम्पसका विद्यार्थी र शिक्षकहरुसँग छलफल तथा परामर्श भएको थियो। फागुन ४ गते सामाजिक उद्यमीहरुसँग भेघवार्ता र परामर्श सञ्चालन गरिएको थियो भने फागुन ५ गते राष्ट्रिय सामाजिक उद्यमशिलताका विषयमा नीतिगत बहस पैरवी र विभिन्न विषयगत प्रस्तुति सञ्चालन गरिएको संयोजक भट्टराईले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
