जर्मन बेहुलासँग नेपाली संस्कृतिअनुसार विवाह
गोरखा : होटल गोरखा गार्डेनको आँगनमा जग्गे, जग्गेमा बेहुली बनेर बसेकी भवानी रेग्मी र उनको दायाँतर्फ बेहुला लार्स माक्र्स दौरा सुरुवालमा सजिएका थिए। एकातिर आँगनभरि दौरा, सुरुवाल र साडी चोलोमा सजिएका जर्मन जन्ती थिए। अर्कातिर नौमती बाजा बजाउँदै महिला बाजा समूह नाचगान गर्दै थिए। गोरो छाला र अग्ला कद भएका जर्मन जन्ती गोरखा बजारकी चेलीसित बिहे गर्न एक साता अघिदेखि आएर बसेका थिए। शनिबार फागुन कृष्ण त्रयोदशीमा विवाहको लगन जुराइएको थियो।
पुरोहित थिए, विष्णु खनाल। उनले हिन्दू रीतिरिवाज अनुसार विधि विधान पुर्याएर विवाह गराइदिए। सिन्दुर हाल्ने, कन्यादान दिने तथा मारे पाप, पाले पुण्य भनेर अन्माउने काम भयो। अर्कातिर जर्मन जन्ती घरबेटीहरूसित हातमा हात समातेर दिनभरि नाचे। लार्स माक्र्स र उनका अभिभावकहरू नेपाली परम्पराअनुसार विवाह गर्न पाउँदा उत्साहित देखिन्थे।
‘नेपाली परम्पराअनुसार विवाह गर्न मैले एकचोटी मात्र प्रस्ताव गरेका थिएँ। उहाँ र उहाँको परिवारले एकदम खुसीसाथ स्वीकार्नु भयो’, भवानीले भनिन्, ‘अनि फागुन १ गते मसहित उहाँहरू पनि नेपाल आएका हौं।’
रेग्मी इन्भारमेन्टल इन्जिनियर हुन्। उनी पढ्न भनेर १३ वर्षअघि जर्मन पुगेकी थिइन्। पढ्ने तथा रोजगारीका क्रममा लार्स माक्र्ससित उनको प्रेम सम्बन्ध स्थापित भयो। प्रेम सम्बन्धलाई नेपाली धर्म, संस्कार, संस्कृतिअनुसार शनिबार विवाहमा परिणत गरिएको हो।
जर्मन नागरिक सबैले नेपाली टोपी, नेपाली दौरा सुरुवाल, निधारमा रातो टीका लगाएर नौमती बाजा बजाएर नेपाली गीतमा दिनैभरि नाचेको देखेर साह्रै खुसी लागेको घरबेटी खडानन्द रेग्मीले बताए।
‘नेपालका इशाइहरू रातो टीका लगाउन आनाकानी गर्छन्। तर, उनीहरू सबैले रातो टीका लगाएर नेपाली संस्कार, संस्कृतिलाई इज्जत दिएर मज्जाले रमझम गरेको देख्दा असाध्यै रमाइलो लाग्यो’, उनले भने।