पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी देखियोः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहसँग पुरानै धङधङी देखिएको बताएका छन् ।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी देखिएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले पूर्वराजा ज्ञानेन्द्र वरिपरी दुई चारजना देखिएपछि हौसिएको बताएका हुन् ।
ओलीले भने,‘ज्ञानेन्द्रजीलाई अझै पुरानो झझल्को आइरहन्छ । दुई चारजना वरिपरी देखे भने फेरि त्यो झल्को आइहाल्दो रहेछ । अहिलेभन्दा १५ वर्ष अगाडि २४० वर्ष उहाँहरूले देश चलाएको होइन ?’
पूर्वराजा ज्ञानेन्द्र आफैमा अलमलमा परेको उनको भनाइ छ। ओलीले भने,‘उहाँहरूले २४० वर्षसम्म चलाउनु भएको होइन ? के गर्नु भएको थियो ? देश कहाँ पुर्याउनुभयो ? ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्ने ?’
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक जोगाउन राजनीतिक दल र राजसंस्था मिल्नुको विकल्प नरहेको बताएका थिए । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्वराजा शाहले नेपाल निरन्तर अधोगतिमा गएकाले आफूहरू मौन बस्न नसकिने बताएका छन्।