राष्ट्रपतिमा माधव नेपालको नाम आए नकारात्मक हुन्नौँ (भिडियो वार्ता)
काठमाडौं: नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले राष्ट्रपतिमा नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालको नाम आए समर्थन गर्ने संकेत गरेका छन्।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै नेकपा माओवादी केन्द्र एमालेसँग भएको भनिएको पुस १० को सहमतिबाट पछि नहटेको बताए। उनले बरू पुस २६ मा कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएपछि अझ अगाडि बढेको दावी गरे। उनले भने, 'हामीले खास कुनै दललाई राष्ट्रपति दिने भन्दा पनि सकेसम्म सबैले स्वीकार गर्ने पात्रमा सहमति होस् भन्ने चाहेका छौँ।'
'माधव नेपाल वा उनको पार्टीलाई राष्ट्रपति दिने भन्ने कुनै वचन दिइएको छैन। चुनावी मसला कसले के प्रयोग गर्यो त्यो जवाफ हामी दिन सक्दैनौँ। माधव नेपाल राष्ट्रपतिमा प्रस्तावित भए हामी नकारात्मक त हुन्नौँ तर राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहाना हो,' पोखरेलले भने, 'माधव नेपालको नाम चर्चा चलाएको एमाले वा केपी ओलीले औपचारिक रूपमा ल्याउनु पर्यो। अन्यथा उनले अनकौँ नाम चर्चामा ल्याएका छन्। कसरी विश्वास गर्नु केपी ओलीलाई।'
राष्ट्रिय सहमति भएर पर्खिदा चुनाव नै हुने अवस्था आयो भने निर्वाचन आयोगले उम्मेदवारको योग्यता अध्ययन सकेपछि फागुन १५ पछि मात्रै कसको पक्षमा भनेर खुल्ने पोखरेलले बताए। उनले भने, 'यति हो एउटै दलको नियन्त्रणमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख हुँदै अन्य संस्था हुँदा शक्ति सन्तुलन के होला भन्ने पक्षमा हामी सचेत छौँ।'
'हामी मुलुक मध्यावधीमा लान नदिने संस्था र नेतृत्व, संस्थागत हुन लागेका गणतन्त्र, धर्म निरपेक्षता, संघीयतासहितका मुद्दामा प्रतिवद्ध हुँदै शान्ति प्रकियालाई तार्किक निष्कर्षमा पुर्याउन स्वार्थ मिल्नेकै पक्षमा हुन्छौँ । कसैलाई धोका दिएको अर्थमा बुझ्नु गलत हुन्छ,' उनले भने।
राष्ट्रपति आफ्नै बुतामा टुंग्याउन आफूहरू लागेको उनले बताए। पोखरेलले भने, 'हामी हाम्रै बुतामा राष्ट्रपति टुंग्याउन चाहान्छौँ । विदेशी शक्तिको चाख र चासो स्वाभाविक छ, उनीहरू चाहान्छन्- राष्ट्रपति पदलाई पनि दुरूपयोग गरेर आफ्ना स्वार्थ लाद्न चाहान्छन् । हाम्रो भूराजनीतिक अवस्थिती बुझेर हामी परिपक्व निर्णय गर्न सक्षम छौँ र हुनेछौँ।'
प्रतिक्रिया दिनुहोस !
