नुवाकोटको विभिन्न स्थानमा बजार अनुगमन, अखाद्य वस्तु नष्ट
नुवाकोट : जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानमा बजार अनुगमन गरेको छ।
विदुर नगरपालिका- १ ढुंगे बजारका सातवटा पसलमा अनुमगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए।
उनका अनुसार एउटा औषधि पसल र ६ वटा किराना पसलमा अनुगमन गरिएको हो।
अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण, मूल्यसूची, नापतौल, खाद्यवस्तु उत्पादनको मिति, म्याद समाप्त मिति, खरिद बिल र बिक्री बिलको निरीक्षण गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुषालले बताए।
निरीक्षणका क्रममा देखिएका कमजोरी तत्काल हटाउन तथा सुधार गर्न दिनुका साथै केही व्यवसायीलाई आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए।
अनुगमनका क्रममा म्याद गुज्रेका विभिन्न सामग्रीहरू वरामद गरिएको भुषालले बताए। उनका अनुसार ३८ हजार रुपैयाँ बराबरको म्याद गुज्रेका विभिन्न सामग्रीहरू बरामद गरी नष्ट गरिएको छ।