नाबालिकाको तस्बिर दुरुपयोग गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं : नाबालिकाको तस्बिर दुरुपयोग गर्ने एक जना पक्राउ परेका छन्। अश्लील तस्बिरमा जोडी सामाजिक सञ्जालमा प्रयोग गरेको आरोपमा मुगाधन श्रेष्ठ पक्राउ परेका हुन्।
सुनकोशी गाउँपालिका-४ ओखलढुंगा घर भएका श्रेष्ठले सामाजिक सञ्जालमा महिलाको नाम राखी बालबालिकासँग कुराकानी गर्दै आएका थिए। यसैक्रममा एक नाबालिकासँग निरन्तर कुराकानी भई उनको प्रोफाइलबाट फोटोहरू डाउनलोड गरी श्रेष्ठले गलत ठाउँमा प्रयोग गरेका थिए।
नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता पशुपति कुमार रायका अनुसार श्रेष्ठले नाबालिकाको फोटो मोडिफाइड गरेर अन्य अश्लील फोटोमा जोडेर फेसबुक मेसेन्जरमार्फत अन्यलाई पठाउने गर्थे।
नाबालिकाको अभिभावकले उक्त विषयमा ब्युरोमा निवेदन दिएका थिए। घटनाको अनुसन्धान गर्ने क्रममा महिलाको नाम राखी फेसबुक चलाउने उनी पक्राउ परेका हुन्। उनी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को अपराध अन्तर्गत ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
