खुला आकाशमुनि अग्निपीडित
खरानी भएको बस्तीको बीचमा रहेको बारीमा महिला र बालबच्चा टोलाइरहेका थिए। सुत्केरी महिला बच्चालाई काखी च्यापेर बसिरहेका थिए। आगोले जलेर जोगिएका सामानहरू असरल्ल छरिएका थिए।
आठराई : तेह्रथुमको आठराई गाउँपालिका–६ हात्तीखर्क पुग्दा पूरै बस्ती उजाड देखियो। घरहरू भग्नावशेषमा परिणत भएका थिए। यहाँका मानिस खुला आकाशमुनि दिन बिताइरहेका छन् ।
खरानी भएको बस्तीको बीचमा रहेको बारीमा महिला र बालबच्चा टोलाइरहेका थिए। सुत्केरी महिला बच्चालाई काखी च्यापेर बसिरहेका थिए। आगोले जलेर जोगिएका सामानहरू असरल्ल छरिएका थिए।
घरमूलीहरू पुर्पुरोमा हात राखेर खरानीमा परिणत भएकोे घरको भग्नावशेष हेरेर भक्कानिँदै थिए। ‘अब कहाँ बस्ने ? के खाने ?,’ उनीहरू भक्कानिँदै भन्दै थिए, ‘बालबच्चा कसरी हुर्काउनु अब ?’ बतासले खरानीलाई उडाएर माथिल्लो बस्ती पुर्याउँदा त्यहाँको माहोल आतंकित हुन्थ्यो। कतिपय घरमा सल्किएको आगो अझै निभेको छैन। भग्नावशेषबाट धुँवाको मुस्लो अझै निस्किरहेको छ।
‘अप्रेसन गरेर बच्चा जन्माएको भोलि एक महिना पुग्छ,’ काँखमा नानी च्यापेर बारीमा बसिरहेकी सुनिता तामाङले आँखाभरी आसु पार्दै भनिन्, ‘घरमा भएको खानेकुरा सबै सखाप भयो। लगाउने कपडा पनि छैन। बस्ने घर खरानी भयो।
स्वास्थ्यमा समस्या देखिएको छ। नानीलाई बचाउन मुस्किल भयो।’ शुक्रबार दिउँसोको आगलागीबाट सुनिताले मुस्किलले आफ्नो र बच्चाको ज्यान जोगाइन्। तर, खाने कुरा र बस्ने घर खरानी भएकाले आफू र बच्चाको स्वास्थ्यमा समस्या आएको उनले सुनाइन्। उनी भन्छिन्, ‘बिजोक भोग्नलाई बाँचिएछ।’२ महिनाकी सुत्केरी नानी च्यापेर बसेकी अग्नीपीडित मञ्जु यञ्जन।
सुनिताजस्तै दुई महिनाको नानी च्यापेर मन्जु यञ्जन पनि बारीमै दिन बिताउँदैछिन्। उनीहरू साँझ परेपछि बास बस्न छिमेकीकोमा शरण लिन्छन्। उनीहरूको दैनिकी बारीमा टोलाउने र रात परेपछि छिमेकीको शरण दिने भएको छ। पुरुषको दैनिकी डामाडोल भएको छ। उनीहरूले काम गर्ने मेसो पाएका छैनन्। ‘हामीलाई केही गर्ने जाँगर छैन,’
सुरेन्द्र तामाङले भने, ‘नौनारी गलेर आएको छ ।’ बिरामीको औषधी र कागजपत्रसमेत बचाउन नसक्दा थप समस्या भएको मायादेवी तामाङले बताइन्। ‘घरमा भएको केही जोगिएन,’ मायादेवीले भनिन्, ‘श्रीमान्को औषधि र कागजपत्र पनि खरानी भयो। औषधि नभएपछि उहाँको स्वास्थ्यमा समस्या थपिएको छ।’
शुक्रबारको आगलागीले यहाँका १४ घर जलेर खरानी भए। जसमध्ये ९ घरमा मानिस बस्दै आएका थिए। आगलागीका कारण ९ घरका ४१ जना विस्थापित छन्। जसमध्ये १७ जना बालबच्चा र दुई जना सुत्केरी महिला विस्थापित भएका हुन्। उनीहरूलाई खान र बस्न राम्रो प्रबन्ध छैन। आगलागीले २७ वटा पशु चौपाया जलेर मरेका छन्। तामाङ जातिका मानिसको बसोबास भएको यस बस्तीमा अधिकांश विपन्न छन्। यहाँका सबै घरहरू फुसले छाएका छन्। सुक्खा क्षेत्र भएकाले आगलागीबाट बस्ती नै सखाप भएको वडाध्यक्ष कृष्ण बाँस्कोटाले बताए।
‘पानीको अभाव भएकाले आगो नियन्त्रणमा लिन कठीन भयो,’ बाँस्कोटाले भने, ‘स्थानीय सरकारको क्षमताले भ्याएसम्म उद्धार र राहत प्रदान गरेका छौं।’ आगलागीबाट २ करोड बराबरको क्षति पुगेको अनुमान गरिएको छ। अग्नीपीडितलाई प्रारम्भिक चरणको राहत प्रदान गरिएको छ। तर, उनीहरूका लागि खानेपानीको समस्या छ।
‘राहतस्वरूप खाद्य सामग्री पाइएको छ,’ पदम दोर्जेले भने, ‘तर, हामीलाई खानेपानीको व्यवस्था कसैले गरिदिएन।’ सुक्खा क्षेत्र भएकाले यहाँ खानेपानीको हाहाकार भएको हो।