प्रदेश १ नामाकरण : विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी
विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ। प्रदेश सभाले बुधबार नामाकरण गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले प्रदेशसभा आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकार तिर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गर्दै प्रदेशको नामाकरणको प्रक्रिया अघि बढेकाले प्रदेश सभा आसपासको क्षेत्रमा धर्ना,जुलुस तथा प्रदर्शन निषेध गरेको जानकारी दिएका छन्।
विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म,जिल्ला प्रशासन कार्यालय वरपर,मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेसम्मलाई अर्को आदेश नभएसम्म सभा,जुलुस,र्याली र धर्ना गर्न नगर्न सूचनामा भनिएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश १ को नाम ‘कोशी’राख्न प्रस्ताव गरेको छ । प्रदेशसभा सचिवालयमा बुधबार दुवै दलले प्रदेश १ को नामकरणका लागि कोशी नाम दर्ता गराएका हुन् ।
एमालेका रामबहादुर मगर प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थन कांग्रेसका भूमिप्रसाद राजवंशी,एमालेका विदुरकुमार लिङ्थेप र निरनकुमार राईले गरेका छन् ।
प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट पनि प्रस्ताव दर्ता भएको छ । दुवै दलले ‘किराँत–लिम्बुवान–सगरमाथा’ नाम प्रस्ताव गरी दर्ता गराएका छन् ।
नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा दर्ता गराइएको हो।
दलहरूबाट प्रस्तावित नाम निर्णयार्थ संसदमा पेश गर्ने तयारी छ । नेकपा (माओवादी केन्द्र) ले पनि कोशी नामकै पक्षमा मतदान गर्ने बताइएको छ ।